कुरिनटार : प्रदेश ३ का शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापती तथा प्रदेश सांसद घनश्याम दाहाल अविनासले शिक्षा नितिमा परिवर्तनको आवश्यक रहेको बताउनुभएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ कुरिनटारमा अवस्थि सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सव कार्यक्रममा बोल्दै प्रदेश सांसद दाहाल अविनासले अहिलेको शिक्षा नितिले समग्रमा नेपालमै बस्ने वातावरण सिर्जना गर्ने खालको जनशक्ति उत्पादन गर्न नसकेको भन्दै शिक्षा नितिमा परिवर्तन आवश्यक रहेको बताउनुभको हो ।
उहाँले भन्नुभयो, “यस विद्यालयले पनि धेरै जनशक्ति उत्पादन गरेको छ तर ती जनशिक्तहरु कोही अमेरीका गएका होलान,कोही खाडी मुलुकमा पसिना बगाइरहेका होलान अझै हामीले नेपालका लागि काम लाग्ने जनशक्ति उत्पादन गर्न सकिरहेका छैनौँ त्यसकारण शिक्षामा नितिमै परिवर्तनको आवश्यकता छ, ।”
साथै दाहालले प्रदेश सरकारले व्यवसायिक तथा प्राविधिक शिक्षामा जोड दिइएको बताउनुभयो । व्यवसायिक प्राविधिक कक्षा संचालन गर्ने विद्यालयहरुलार्ई प्रदेश सरकारले उचित अनुदानको व्यवस्था मिलाएको उहाँले बताउनुभयो । जसका लागि प्रदेश सरकारले ऐन नै परित गरिसकेको जानकारी दिनुभयो । सर्वशान्ति माविलाई पनि प्रावधिक शिक्षा तर्फ लाग्न आग्रह गर्नुभयो ।
प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रम संचालन गरिएको बताउनुभयो । त्यसै अनुरुप सर्वशान्तिमा पनि नर्सको व्यवस्था गरिएको हो । साथै प्रदेश सरकारले बस सेवा उपलब्ध गराउने छ । पहिलो चरणमा यस बर्ष १० ओटा विद्यालय छनौट गरिने उहाँले बताउनुभयो ।
सांसद दाहालले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई आफुलाई नै विश्वास गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईलाई आफ्नो विश्वास लाग्छ भने आफै कार्यरत विद्यालयमा आफ्नो छोराछोरी भर्ना गर्नुहोस् ,शैक्षिक सुधारमा लाग्नुहोस् आफ्नो बालबालिकालाई निजि विद्यालयमा पढाएर आफु सामुदायिक विद्यालयमा जागिर खान नैतिकताले दिदैँन, ।”