चितवन : टेलिभिजन प्रस्तोता रवि लामिछानेको आत्महत्या दुरुत्साहन मुद्दा उच्च अदालत हेटौंडाले जिल्ला अदालत चितवनको फैसला सदर हुने निर्णय सुनाएको छ।

उच्च अदालतले बिहीबार रवि र सरकारी पक्षको निवेदनमा सुनुवाइ गर्दै धरौटी माग गर्ने आदेश सदर गरेको हो भने विदेश जान अनुमति लिनुपर्ने कार्यक्रम सञ्चालन गर्न नपाउने जस्तो शर्तहरु भने बदर गर्ने आदेश गरेको हो।

उच्च अदालतको यो आदेशपछि लामिछानेले विदेश जान र कार्यक्रम चलाउन पाउने छन्। जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख र सञ्चारकर्मी युवराज कडेँललाई ३ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो।

जिल्ला अदालत चितवनको आदेश विरुद्ध लामिछानेले उच्च अदालत पाटन अन्तर्गतको हेटौंडा इजलाशमा दिएको निवेदनको दोस्रो सुनुवाइ गर्दै जिल्ला अदालतको आदेश सदर गर्ने निर्णय सुनाएको हो। उच्च अदालतका न्यायाधीशद्धय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलाशको यस्तो आदेश दिएको हो।

जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेले भदौ २३ गते निवेदन दिएका थिए। लामिछानले निवेदन दिएको भोलिपल्ट भदौ २४ गते सरकारी पक्ष पनि अदालत पुगेको थियो।

पत्रकार पुडासैनीको गत साउन २० मा चितवनको नारायणगढ बसपार्कस्थित होटल कंगारुमा शव भेटिएको थियो। उच्चको यो आदेशपछि पुडासैनी लगायत जुनसुकै विषयमा उनले कार्यक्रम सञ्चालन गर्न पाउने छन्।