गोरखा, २९ असोज । विगतका बर्षहरुमा जस्तै हरेक वर्ष हरिवोधनी ठुली एकादशीका दिन सञ्चालन हुने त्रिवेणी मेला यस वर्ष पनि सञ्चालन हुने भएको छ । गोरखा जिल्लाकै सबैभन्दा होचो स्थानमा रहेको त्रिवेणी भगवती मन्दिरमा यस वर्ष पनि विविध साँस्कृतिक तथा खेलकुद कार्यक्रमका साथ हरिवोधनी ठुली एकादशीका दिन त्रिवेणी मेला सञ्चालन हुने भएको हो । शहिद लखन गाउँपालिका ३ गोरखामा पर्ने मुग्लिन पारिपट्टि रहेको त्रिवेणी भगवति माई प्रसिद्ध मनकामना माईको कान्छि बहिनीको रुपमा समेत परिचित छ । सोहि मन्दिरको प्राङ्गणमा हरिवोधनी ठुली एकादशीका दिन स्थानीय कालिका युवा क्लब निभारेले हरेक वर्ष मेलाको आयोजना गर्दै आएको छ । विगतका वर्षहरुमा गरिने घाटु नाच, मारुनी नाच, चुड्का, लाखे नाच, भजन, झ्याउरे नाच, पञ्चे बाजा लगाएत विभिन्न साँस्कृतिक कार्यक्रमहरुलाई निरन्तरता दिदै यस वर्ष केही कार्यक्रमहरु थप गरिएको मेला संयोजक पृथ्वी गुरुङ्गले जानकारी दिनुभयो । यस वर्ष राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति संगै स्थानीय कलाकारहरुको प्रतिभालाई पनि हेर्न पाइने छ । त्यस्तै मेलाको अवसरमा गाउपालिका स्तरिय भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता, अण्डा खाने प्रतियोगिता समेत आयोजना गरिने उहाँले बताउनुभयो ।
चितवनको इच्छाकामना ५ मुग्लिन बजारबाट त्रिशुली नदीको झोलुङ्गे पुल पार गरि १० मिनेट मै पुग्न सकिने त्रिवेणी भगवती माईको दर्शन गर्न विभिन्न ठाउँबाट दर्शनार्थीहरु आउने गर्दछन् । देवीको दर्शन गरे मनले इच्छाएको कुरा पुरा हुने धार्मिक विश्वास रहदै आएको छ । उक्तदिन आफ्नो मनले सोचेर मागेको भाकलहरु पुरा गर्न आफ्नो परिवारजन सहित रातभरी बत्तिबाली बिहान त्रिशुली र मस्र्याङ्दीको दोभानमा स्नान गरी आफ्नो परिवारजनको ग्रह बगाउने तथा यस पुण्यभूमिको जल मनकामना मन्दिरमा चढाउने चलन प्रचलन रहेको हुँदा हजारौ भक्तजनहरुको उक्त मेलामा सहभागी हुने गर्दछ ।
यस वर्ष पनि ५० वटा व्यापारीक स्टलहरु राखिने बताएका छन् । स्टलको बुकिङ्ग भने कार्तिक १ गते देखि मात्र खुला गरिने भएको हुँदा इच्छुक व्यवसायिक मित्रहरुले आयोजक कमिटिलाई सम्पर्क गर्नको लागि आग्रह गरेका छन् ।
इच्छाखबर संवाददाता












