चितवन : चर्चित संचारकर्मि रवि लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रम मार्फत भ्रष्टाचार, बेथिति र विसंगतीविरद्ध अझै बलियो भएर प्रस्तुत हुने बताएका छन् । नारायणी नदी किनारमा आयोजित धन्यवाद सभामा उनले अदालतको आदेशको पूर्णसम्मान गर्दै अघि बढ्ने बताए ।

उनले आगामी शनिबारदेखि ‘सिधा कुरा जनतासँग’ कार्यक्रमले निरन्तरता पाउने बताए । आफूलाई अदालतले एउटा मुद्दामा मात्रै नबोल्न आदेश दिएको बताउँदै लामिछानेले अरु लाखौँ मुद्दामा जनताको आवाज बनेर प्रस्तुत हुने बताए ।

‘मलाई अदालतले एउटा मुद्दामा नबोल्न भनेको छ तर देशमा बोल्नुपर्ने लाखौँ मुद्दा छन् म ति मुद्दामार्फत जनताको आवाज बुलंद पार्नुेछ’, लामिछानेले भने । उनले जनताको अपार माया पाएको आफूलाई सुरक्षा चुनौती छ भन्ने महसुस नभएको बताए ।

‘ धेरैले मलाई सुरक्षा चुनौती छ भनिरहेका छन् तर मलाई त्यस्तो लाग्दैन, मसँग जनताको माया छ, यो मायाले मलाई मार्छु भनेर आउनेहरु बाटोमै दुर्घटनामा पर्नेछन्’ रविले भने ।

उनले भ्रष्टाचारी र जनताका केही शोषकहरु विषालु सर्प बनेर आफ्नाविरुद्ध लागिरहेको बताए ।

‘विषालु सर्पलाई प्रहार गर्ने थुप्रै विकल्प हामीसँग छन् तर सर्पसँग ठुग्ने बाहेक अर्को विकल्प हुँदैन, त्यस्ता धेरै सर्पहरु देशमा छन् अझै बलियो भएर हाम्रो टिम आउँदैछ’, रविले भने ‘ भ्रष्टाचार विरोधी सामग्री प्रसारण भयो भने भनेर ति सर्पहरुले झर्को नमान्नुहोला ।’