चितवन : प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चितवनमा आएको करिब ५० प्रतिशत बजेट फ्रिज भएर फिर्ता गएको छ । चितवनका सात स्थानीय तहमा सो कार्यक्रम सञ्चालनको लागि आएको २ करोड ४० लाख ७२ हजार रुपैया मध्य एक करोड १८ लाख ५६ हजार रुपैया फ्रिज भएको हो । आर्थिक बर्ष २०७५÷०७६ मा रोजगार कार्यक्रम सञ्चालनको लागि आएको ५० प्रतिशत रकम फ्रिज भएको हो ।
भरतपुर महानगरपालिकमा सो कार्यक्रम सञ्चालनको लागि एक करोड ८ लाख ७२ हजार बजेट आएकोमा ४० लाख २२ हजार रुपैया फ्रिज भएर फिर्ता गएको छ । रत्ननगर नगरपालिकामा रोजगार कार्यक्रम सञ्चालनको लागि ३३ लाख रुपैया आएकोमा ९ लाख ४२ हजार ३३१ रुपैया मात्र खर्च भई २३ लाख ५७ हजार ६६९ रुपैया फ्रिज भएको छ । खैरहनी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २५ लाख रुपैया प्राप्त भएकोमा २० लाख ५६ हजार रुपैया फ्रिज भएको छ ।
कालिका नगरपालिकामा १९ लाख रुपैया बजेट आएकोमा १५ लाख ८० हजार रुपैया फ्रिज भएको छ । राप्ती नगरपालिकामा रोजगार कार्यक्रम सञ्चालनको लागि सरकारले २६ लाख रुपैया आएकोमा १४ लाख ६० हजार ५०० रुपैया फ्रिज भएर फिर्ता गएको छ । माडीमा सरकारले दिएको १८ लाख रुपैया मध्य १७ लाख रुपैयाको काम भएको छ । एक लाख रुपैया फ्रिज भएको छ । गाउँपालिका इच्छाकामना गाउँपालिकामा ११ लाख रुपैया बजेट आएकोमा २ लाख ८० हजार रुपैया फ्रिज भएको छ ।