हीरालाल गुरुङ
मुग्लिन,२१जेठ । चितवनको इच्छाकामना गाउँपालिका ६ तुन्तेसका बल बहादुर घर्तीलाई बर्खा लागेपछि चिन्ताले सताउँथ्यो । विरामी पर्दा स्वास्थ्यचौकी कसरी जाने?किनमेलका लागि बजार कसरी जाने ? वडा कार्यालय कसरी जाने ? बर्खामा पानी परेपछि ठाड खोला क्षणभरमै उर्लिन्छ खोला तर्न सकिदैन । बजार, वडा कार्यालय र स्वास्थ्यचौकी जानका लागि छोटो दुरीको बाटो नै ठाड खोला पार गरेर जानु हो । अब भने उनलाई त्यो चिन्ता हटेको छ । किनकी बाटो छेक्ने पुलमा झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ ।
उनले भने “जब बर्खा लागेपछि चिन्ताले सताउँथ्यो,किनमेलका लागि बजार जान,वठा कर्यालय र विरामी हुदाँ स्वास्थ्य संस्था सम्म जानेबाटो ठाड खोलाले छेकिदिन्थ्यो अब भने यी समस्याबाट मुक्ति मिलेको छ । ” अर्का स्थानीय कुमार घर्तीले पनि पुल निर्माण पछि खुशीको सीमा नै नरहेको बताए । पुल निर्माणका लागि सहयोग गर्ने सबैलाई उनले धन्यावद दिए ।

पुल निर्माण पछि बीर बहादुर र कुमार जस्तै २६५ घरका १ हजार ३ सय २५ जना प्रतक्ष्य लाभान्वित भएका छन् । पुल निर्माण समितिका अध्यक्ष बीर बहादुर गुरुङका अनुसार २६५ घरधुरीका बासिन्दा बाहेक आसपासका वडा न २ का हुस्ती, काउले र वडा न ७ का दाहाखानीका बासिन्दाहरु पनि यस पुलबाट लाभान्वित हुने हुनेछन् । प्राविधिक कार्यालय चितवनबाट रु. १७ लाख ६९ हजार ३० रुपैयाँ ६४ पैसा, गाउँपालिकाबाट रु एक लाख ९५ हजार हजार ,स्थानीय श्रमदानबाट रु. ६४ हजार ९ सय ७ पैसा, टिबिएसयू संस्थाबाट बस्तुगत सहयोग र सहभागी नेपाल संस्थाको सामाजिक तथा प्राविधिक सहयोग गरि कुल रु ३३ लाख २५ हजार ८ सय ८९ लागतमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको निर्माण समितिका अध्यक्ष गुरुङले जानकारी दिए । पुलको लम्बाई ६६ मिटर लामो रहेको छ ।

वडाध्यक्ष भूपेन्द्र चेपाङ्गका अनुसार यस अघि यहाँका बासिन्दाहरुले बर्खा याममा किनमेलका लागि बजार, विरामी हुदाँ स्वास्थ्य संस्था, र वडा कार्यालय सम्म जान समस्या भोग्दै आएका थिए । गाउँपालिकाको विकट स्थानमा रहेको यहाँ चेपाङ, घर्ती र गुरुङ समुदायको बसोबास रहेका छन् । पुल निर्माण सम्पन्नपछि निर्माण समितिर सहयोगी संस्थाहरुले वडाअध्यक्ष भूपेन्द्र चेपाङ र स्थानीयहरुको सहभागीतामा सार्वजनिक सुनाई समेत सम्पन्न गरेको स्थानिय समाजसेवी तथा पुल निर्माणमा सहयोगी भूमिका निर्वाह गरेका याम बहादुर गुरुङले जानकारी दिए ।