काठमाडौँ, १९ वैशाख । खुलामञ्चमा अवैध सटर बनाउने जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका सञ्चालक मनोज भेटवालले अकासे पुलबाट मात्रै काठमाडौं महानगरलाई वार्षिक साढे चार करोड रुपैयाँ घाटा लगाउने गरेको खुलेको छ । नयाँ बसपार्क र टुँडिखेलआसपासका अकासे पुलको लिज सम्झौतामा चलखेल गरी उनले १५ वर्षअघिदेखि रकम असुल्दै आएका छन् । महानगरपालिकाका अनुसार रकम असुल्ने धन्दामा मनोज भेटवालका दाइ भैरव भेटवाल पनि संलग्न रहेको समाचार नयाँ पत्रिका दैनिकमा छ । टुँडिखेल, रत्नपार्क, जमल र नयाँबसपार्कको गेटसहित महानगरपालिकाभित्र नौवटा अकासे पुल छन् । तिनका २१० सटर र शौचालयबाट प्रतिमहिना न्यूनतम साढे ३८ लाख रुपैयाँ संकलन हुन्छ । यसबापत ठेकेदार कम्पनीले महानगरपालिकालाई प्रतिमहिना एक लाख ८३ हजार रुपैयाँ मात्रै रोयल्टी बुझाउँछ । बाँकी ३६ लाख ६५ हजार रुपैयाँ ठेकेदार कम्पनीले लिन्छ । जसबाट महानगरपालिकाले प्रत्येक वर्ष चार करोड ३८ लाख रुपैयाँ गुमाउँदै आएको छ ।