कुरिनटार,१२वैशाख । चितवनको इच्छाकामना गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा विद्युतीय हाजिर प्रणाली लागू हुने भएको छ ।बिहिबार एक कार्यक्रमकाबीच गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले १५ वटा सामुदायिक विद्यालयहरुका विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुलाई विद्युतीय हाजिरी मेसिन हस्तान्तरण गर्नुभएको हो ।
विद्युतीय मेसिनबाट हुने हाजिरमा आए गएको समय पनि देखिने भएकाले विद्यालयमा शिक्षक समयमा उपस्थित हुने र शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने अध्यक्ष गुरुङले विश्वास व्यक्त गर्नुभयो ।
उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक विद्यालय व्यवस्थापन समिति र अभिभावक सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
गाउँपालिकाका शिक्षा अधिकृत दीपक सिग्देलका अनुसार तत्काल विद्युत सेवा पुगेका विद्यालयहरुमा यो सेवा सुरु गर्न लागेका हुन् ।
सिग्देलका अनुसार वडा नं. १ को हात्तिवाङ्ग, वडा नं. ३ को फिस्लिङ्ग र माझगाँउ, वडा नं. ४ को कुरिनटार, लेवाटार र लामीडाडाँ, वडा नं. ५ को मुग्लिन र पामडाडा, वडा नं. ६ को कालिखोला र पैरेनी वडा नं. ७ को गर्दास, सुन्दरवस्ती, रानीखोला, दाहाखानी र खेतवारीमा रहेका सामुदायिक विद्यालयहरुमा विद्युतीय हाजिर प्रणाली लागु गर्न लागिएको छ ।
इच्छाकामनामा ५८ वटा सामुदायीक र ५ वटा संस्थागत विद्यालयहरु रहेका छन् ।