काठमाडौँ,
समाजसेवी होमनाथ घिमिरेको स्मृतिमा ‘होमनाथ घिमिरे स्मृति ग्रन्थ’ प्रकाशन गरिने भएको छ । गोरखाको दक्षिणी गाउँपालिका गण्डकी गाउपालिका मकैसिङ निवासी घिमिरे प्रसिद्ध समाजसेवी थिए । गाउँफर्क अभियानको नेतृत्व गरेका उनले विजया भवानी उच्च माविको स्थापना समेत गरेका थिए । उनले २०१७ सालदेखि जीवनको अन्तिम समयसम्म उक्त विद्यालयको व्यवस्थापन समिति सदस्य रहेर सेवा गरेका थिए । मकैसिङ प्राथमिक स्वास्थ्य चौकीको संस्थापक घिमिरे ८५ वर्षको उमेरमा पनि बुटार–ठुटेपिपल (२० कि.मि.) सडक खण्डको निर्माण कमिटी अध्यक्ष रहेर काम गरेका थिए ।
महादेव गाउँ पञ्चायतको प्रधानपन्च हुँदा धारा, कुलो, शैक्षिक संस्था स्थापना, सुधार, स्वास्थ्य चौकी स्थापना लगायत विकास निर्माणमा कामहरू समर्पित रहेका थिए । स्थानीयहरूका अनुसार भेँडाबारी, दलभन्ज्याङमा हालसम्म पनि उनकै कार्यकालमा बनेका धाराहरुले स्थानीय जनतालाई सुविधा दिइरहेका छन् । शिक्षा र समाजसेवाप्रति समर्पित घिमिरेको ९० वर्षको उमेरमा गत वर्ष जेठ ६ गते काठमाडौँमा उपचार गदागर्दै निधन भएको थियो ।
स्मारिका सम्पादनका लागि डा. नवराज कट्टेल प्रधान सम्पादक एवम् भरतबाबु कट्टेल, एकराज शर्मा पोखरेल, सुमन कट्टेल, तेजविलास अधिकारी र अमित अधिकारी सम्पादक रहेको सम्पादन समिति गठन गरिएको छ । सम्पादन तथा प्रकाशन समितिलाई आवश्यक सल्लाह र सुझाव दिनका लागि सनत रेग्मी, रमेशचन्द्र कट्टेल, बद्रीप्रसाद घिमिरे, सृजन लम्साल र अम्बिका अर्याल रहेको सल्लाहकार समिति गठन गरिएको छ । समितिको संरक्षकमा वेदकुमारी घिमिरे रहनुभएको छ ।
वि.सं. १९८५ जेठ १० गते पिता ईश्वरीप्रसाद घिमिरे र माता गौरादेवी घिमिरेका सुपुत्र स्व. होमनाथ घिमिरेले आफू जीवित हुँदा समाजका लागि दिनुभएको योगदानलाई चीरस्थायी तुल्याउन र समाजसेवाप्रति भावी पिँढीलाई आकर्षित गराउने उद्देश्यले स्मृति ग्रन्थ प्रकाशन गर्न लागिएको सम्पादक मण्डल सदस्य तेजविलास अधिकारीले बताए ।