चितवन, ७ कात्तिक । पृथ्वी राजमार्गमा सवारी दुर्घटना न्यूनीकरणका लागि नयाँ प्रविधिको प्रयोग शुरु गरिएको छ ।राजमार्गका अत्यधिक सवारी दुर्घटना हुने क्षेत्रमा अहिले रबर स्पिड ब्रेकर राख्न शुरु गरिएको होे ।

पृथ्वी राजमार्गमा भने यो प्रविधिको पहिलो पटक प्रयोग गरिएको हो । यसरी राखिएको स्पिड ब्रेकरमा सवारी साधन आइपुगेपछि सवारी चालकले स्पिड घटाउने भएका कारण दुर्घटनाको सम्भावना कम हुने प्राविधिकको विश्वास छ । सो स्पिड ब्रेकर सवारी दुर्घटना अत्यधिक हुने घुम्तीको तीन सय मिटर अगाडिदेखि राखिएको छ ।

स्पिड ब्रेकरमा आएपछि चालक आफैँ जानकार भई गाडीलाई कम गतिमा लगेर सुरक्षित बनाउन सजग गराउने उद्देश्यले राजमार्गमा स्पिड ब्रेकर राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमराज घिमिरेले बताए । मुग्लिन– नरायणघाट सडक खण्डमा पुलको नजीक र पृथ्वी राजमार्गमा भने दुर्घटना हुने घुम्तीमा यस्तो प्रविधिको प्रयोग गरिएको छ । यसका साथै राजमार्गका संवेदनशील क्षेत्रमा ट्राफिक चिह्नलगायत सडक बत्तीको समेत व्यवस्था गरिएको छ ।

अहिले परीक्षणका रुपमा नौबीसे –मौवाखोला सडक खण्डमा पर्ने घाटबेंसी र हुग्दी खोलाको घुम्तीमा स्पिड ब्रेकर राखिएको छ ।
स्पिड ब्रेकरले सवारी चालकहरुलाई समेत सचेत गराउने भएकोले दुर्घटना कम हुने प्राविधिकहरुको भनाई छ ।पृथ्वीराजमार्गको धादिङ खण्डमा हरेक दिन १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।