गण्डकी गाउँपालिका गोर्खा: गोर्खाको घ्याल्चोकमा बस्ती उठाएर बालुवाखानी सञ्चालन गरिएको छ। गोरखा रिसोर्स प्रालिले गण्डकी गाउँपालिका-७ चुवाटारमा १० घर हटाएर मंसिरदेखि खानी चलाएको हो। प्रालिले तीन घर हटाएर अर्को ठाउँमा बनाउन खर्च दिइसकेको छ। अरूलाई साविकको घर भत्काउन खर्च दिइसकेको स्थानीय ईश्वर खनालले बताए।
‘मलाई, विष्णु खनाल र रामचन्द्र खनाललाई यहाँको घर अर्को ठाउँमा सार्न ११ लाख रुपैयाँका दरले पैसा दिइसकेका छन्’, उनले भने, ‘अरू १० घरधनीले पनि घर भत्काउन ५० हजार रुपैयाँका दरले खर्च लिइसकेका छन्।’ सो स्थानमा अरू १५ जनाको भने जग्गा मात्र प्रयोग भएको छ। उनीहरूलाई प्रतिटिपको पैसा तिर्ने सम्झौता भएको बताइएको छ। चुवाटारमा बालुवाखानी सञ्चालन गर्न थातथलो छाड्न राजीखुसीसाथ मदन रेग्मी, भानुभक्त अर्याल, ईश्वरी खनाल, विष्णु खनाल, रामचन्द्र खनाल, प्रेमकुमार विक, गोपाल विक, कीर्तनाथ रेग्मी र दीननाथ रेग्मीले हस्ताक्षर गरेको खनालले बताए।खानी सञ्चालन गर्न रिसोर्स प्रालिले एक सय ३४ रोपनी जग्गा प्रयोग गरिरहेको छ। त्यहाँ घर र जग्गा भएकाले १० वर्षसम्म कुनै प्रकारको विवाद नगर्ने सम्झौता गरिसकेका छन्। ‘जग्गाधनीलाई एक टिपर बालुवाको एक हजार रुपैयाँका दरले पैसा दिन्छौं’, प्रालि सञ्चालकमध्येका खुमनाथ अधिकारीले भने, ‘यो रकम बर्सेनि १० प्रतिशतका दरले बढाउँदै लान्छौं। प्रतिटिपरको पाँच सय रुपैयाँका दरले गाउँपालिकालाई निकासी कर तिर्छौं।’ विस्थापित बस्तीमा पूर्वाधार निर्माण गर्नै बर्सेनि १० लाख रुपैयाँ दिने सम्झौतामा उल्लेख भएको पनि अधिकारीले जानकारी दिए।बस्ती हटाएर खानी चलाउने कम्पनीमा खुमनाथ अधिकारी, मनोज बरोकोटी, अनिल थापा, नीराजन कुँवर, सूर्य गुरुङ र ज्ञानु गुरुङ छन्। स्थानीयसँग प्रतिटिपर हजार रुपैयाँमा बालुवा किनेर क्रसर उद्योगलाई चार हजार पाँच सय रुपैयाँमा बेच्दै आएका छन्। ‘त्यही एक हजार रुपैयाँमा किनेर त्यहीँका त्यहीं क्रसर उद्योगलाई ४५ सय रुपैयाँमा बेच्छन्’, वडाध्यक्ष रेग्मी भन्छन्। यहाँबाट ३५ वटा टिपरले रातदिन बालुवा ओसार्ने गरेको स्थानीयको भनाइ छ। ‘रात र दिनमा गरी डेढ सयभन्दा धेरै टिपरले बालुवा बोक्छ’, अर्का स्थानीय सुशान्त भुजेल भन्छन् ‘यहाँको बालुवा धादिङको बेल्खु, मलेखु, सिम्लेको क्रसरतिर लैजान्छन्।चुवाटारभन्दा पूर्व धवादी र ठकुरीडाँडामा पनि यसरी नै खानी चलाइएको छ। सुजोस कन्स्ट्रक्सनले १४ रोपनी क्षेत्रफल जग्गामा खानी सञ्चालन गरेको छ। सिद्धिदर्शन सप्लायर्स प्रालिले धवादीमा सात रोपनी जग्गा कब्जा गरेर खानी सञ्चालन गरेका हुन्। ‘मेरो जग्गामा खानी चलाइदे भनेर ठेकेदारलाई जग्गा दिने परम्परा बढिरहेको छ’, गण्डकी गाउँपालिका वडा नं. ८ का अध्यक्ष रामप्रसाद रेग्मी भन्छन्, ‘पहिले तरकारी गाउँ भनेर चिनिन्थ्यो, अब बालुवा गाउँ भनेर चिनिने भयो।’ अन्न फलाउने खेतबारी तहसनहस पारेर बालुवाखानी चलाउँदा गाउँबस्तीकै स्वरूप बिग्रिएको उनले बताए।स्थानिय जग्गा धनी र प्रशासन को बिरोध अनि अबरोधले अहिले खानी अस्थायी रुपमा बन्द गरियको छ। Note-विभिन्न अनलाइन र सहयोगी को रिपोर्टमा आधारित।