चितवन,२३ कात्तिक । चितवनमा चुनाव प्रसारप्रसारमा मनोमानी सवारीसाधनको दुरुपयोग बढेको छ । निर्वाचन आचारसंहिता–२०७२ विपरीत चुनावी सभा, घरदैलोमा पुग्न अनाधिकृतरुपमा सवारीसाधनको प्रयोग हुने गरेको पाइएको छ ।
निर्वाचन आयोगले बनाएको आचारसंहितामा निर्धारण गरिएकाभन्दा धेरै संख्यामा सवारीसाधनका लस्कर चुनावी अभियानमा प्रयोग हुने गरेको देखिएको छ । मोटरसाइकल ¥याली पनि उस्तै संख्यामा देख्न सकिन्छ । चुनावी सभा स्थल वरपर झण्डा र व्यानरसहितका सवारी पार्किङ निकै मुस्किलले गर्ने गरेका दृश्य भेटिने गरेका छन् ।
चितवनमा ९५ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यतर्फ १ बाट ३ स्वतन्त्रसहित १३ जना, २ मा ३ स्वतन्त्रसहित १५ जना र ३ मा ६ स्वतन्त्रसहित १४ जना उम्मेद्वार छन् । यस्तै प्रदेशसभा सदस्य निर्वाचनका लागि १ क र ख मा १०/१० जना, २ ९क० मा ९ जना र २९ख० मा १ स्वतन्त्र उम्मेदवार सहित १० जना उम्मेदवार छन् । यस्तै ३ ९क० र ९ख० मा ७/७ जना उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारको चुनावी कार्यक्रमको तुलनामा गठबन्धन गरेर चुनावमा होमिएका दलको चुनावी प्रचार प्रसार निकै तडकभडकसहित हुने गरेका छन् ।
आचारसंहितामा सवारीसाधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणबारे लेखिएको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वारले प्रचारप्रसारका लागि निर्वाचन अधिकृतको अनुमति लिई बढीमा चारवटा चारपाङग्रे हलुका सवारीसाधन र बढीमा चारवटा मोटरसाइकल प्रयोग गर्नसक्ने उल्लेख छ । यस्तै प्रदेशसभा सदस्यका उम्मेद्वारले निर्वाचन अधिकृतको अनुमति लिई बढीमा दुईवटा चारपाङ्ग्रे हलुका सवारीसाधन र चारवटा मोटरसाइकल प्रयोग गर्न सक्ने उल्लेख छ ।
यस्तै यस्ता सवारी नचल्ने स्थानमा प्रतिनिधिसभा सदस्यका उम्मेद्वारले बढीमा ४ वटा र प्रदेशसभा सदस्यका उम्मेद्वारले बढीमा २ वटा घोडा प्रयोग गर्न सक्ने व्यवस्था छ । राजनीतिक दलले निर्वाचन अधिकृतको अनुमति लिई एउटा जिल्लामा बढीमा दुई वटा चारपाङ्ग्रे सवारीसाधन र त्यस्ता सवारी नचल्ने स्थानमा बढीमा चारवटा घोडा प्रयोग गर्न सक्ने व्यवस्था छ ।

चितवनमा रहेका ३ वटा निर्वाचन अधिकृतको कार्यालयमा हालसम्म निर्वाचन प्रचारप्रसारका लागि भनेर कुनैपनि सवारी दर्ता भएको अभिलेख छैन । चितवन क्षेत्र नम्बर ३ का सहायक निर्वाचन अधिकृत केशवप्रसाद पौड्याल सवारीसाधन प्रयोग कति गर्न पाइन्छ भनेर बुझ्न आएपनि अनुमति लिने नगरेको बताए ।

“निर्वाचन प्रसारका लागि सवारीसाधनको अनुमति लिने व्यवस्था छ”, उनले भने, “तर, अनुमति लिन कोही आएका छैनन् ।” उनले चुनाव प्रसारप्रसार गर्दिनँ भनेर सवारीसाधन प्रयोग नगर्ने उम्मेद्वारलाई अनिवार्य सवारी अनुमति लिनुपर्छ भनेर दबाब दिन नमिल्ने उनको भनाइ छ । “आचारसंहिता उल्लंघन भयो भनेर कतैबाट उजुरी पनि आएको छैन”, उनले भने, “अनुमतिविना चुनावी प्रसारमा सवारी प्रयोग गर्न मिल्दैन, त्यसो भएमा कारबाही हुन्छ ।” उनले उजुरी परेमा आचारसंहिता पालना गर्न उम्मेद्वार वा उनका प्रस्तावक वा समर्थकमार्फत ध्यानाकर्षण गराइने बताए ।
चितवन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत परमेश्वर पराजुलीले शर्त पूरा नगरी सवारीसाधन प्रचारप्रसारमा लगाउन नपाइने बताए । “आयोग वा निर्वाचन अधिकृतबाट स्वीकृत लिनुपर्छ”, उनले भने, “यो क्षेत्रमा अहिलेसम्म सवारी चलाउन स्वीकृति लिने पाइएको छैन, अनुमति लिन आव्हान गर्छौँ ।” उनले उम्मेद्वारहरु चुनावी प्रचारमा जान बल्ल सुरु हुन लागेकाले सवारी अनुमति नलिएको हुन सक्ने बताए ।

“उम्मेद्वार चुनाव प्रचारमा जान प्रयोग गर्ने सवारीको अनुमति लिनुपर्छ”, उनले भने, “अनुमति नलिए यो आचारसंहिता उल्लंघन मात्रै होइन, निर्वाचन कसुर अपराधका रुपमा सजाय हुने व्यवस्था छ । उनले व्यानर, झण्डा राखेर माइकिङ गर्दै चुनाव प्रचार गर्ने सवारीले अनिवार्यरुपमा अनुमति लिनुपर्ने व्यवस्था रहेको बताए । यो पालना नगर्नेलाई नगद २५ हजार रुपैयाँ र निर्वाचन अवधिभर सो सवारी चलाउन नपाउने गरी कब्जामा लिन सकिने बताए । आचारसंहिता उल्लंघन भए नभएको अनुमगनका लागि अनुगमनकर्ता छिट्टै परिचालन हुने बताए ।  कायाकैरन दैनिकबाट