बिष्णु प्रसाद त्रिपाठी

चितवन, २३ कात्तिक । दारेचोक स्वास्थ्यचौकीमा सुत्केरी गराउनेको संख्यामा बृद्धि भएको छ । ईच्छाकामना गाउँपालिका वडा न.४ कुरिनटारमा रहेको यस स्वास्थ्यचौकीमा गत आर्थिक बर्षमा मात्र १०७ जनाले सुत्केरी गराएको इन्चार्ज हरि बहादुर देवकोटाले जानकारी दिनुभयो ।
यहाँ चितवन बाहेक गोरखा, धादिङ र तनहुँ लगायत बाट विरामी उपचार तथा सुत्केरी गराउन र नियमित चेकजाँच गर्न आउने गरेको इन्चार्ज देवकोटाले जानकारी दिनुभयो ।
गर्ववती सुत्केरी र सुत्केरी पछिको अवस्था सम्म नियमित जाँच गराउने गरिएको छ । २४ सै घण्टा सुत्केरी सेवा दिईने यस दारेचोक स्वास्थ्यचौकीमा ईच्छाकामना गाउँपालिका भित्रका सुत्केरी गराउन आउने गर्भवती महिलाहरुलाई गाउँपालिकाले हर्लिक्स र सुप नि:शुल्क व्यवस्था समेत गरिएको छ । साउन देखि याता मात्र ४३ जनाले स्वास्थ्यचौकीमा सुत्केरी गराएको इन्चार्ज देवकोटाले बताउनुभयो ।

पछिल्लो समयमा स्वास्थ्यचौकीमै गएर सुत्केरी गराउनुपर्छ भन्ने जनचेतना र स्वास्थ्यचौकीले दिने चौविसै घण्टा सेवाका कारण स्वास्थ्यचौकीमा सुत्केरी गराउनेको संख्यामा बृद्धि भएको इन्चार्ज देवकोटाले बताउनुभयो । अहिले दिनमा ३ देखि ५ जना सम्मले स्वास्थ्यचौकीमा बच्चा जन्माउँछन् ।

परिवार नियोजनका साधन इम्प्लान्ट सेवा पनि सुचारु गरिएको छ। अहिले सम्म २०० महिलाले इम्प्लान्ट प्रयोग गरिएको छ ।यस स्वास्थ्यचौकीमा एक बर्ष देखि मानसिक रोग सम्बन्धि जाँच तथा उपचारसेवा पनि भईरहेको छ ।

जनशक्तिको अभाव
बाहिरि जिल्लाको समेत उपचार केन्द्रको रुपमा विकसीत हुदैँ गएको यस दारेचोक स्वास्थ्य चौकीमा दैनिक ५० देखि ६० जना सम्म दैनिक स्वास्थ्य सेवा लिन विरामी आउछन् । यहाँ विभिन्न पदमा ७ जना दरबन्दी छन् । तर एक जना अझै रिक्त रहेको देवकोटाले बताए ।जनशक्तिको अभाव भएपछि गाउँपालिकाले ४ जना स्वास्थ्य कर्मी करारमा राखेका छन् ।
यस स्वास्थ्यचौकीमा जनजाती चेपाङ समुदायले बढी सेवा लिने गरेका छन् । पछिल्लो समयमा स्वास्थ्य चौकीमा बढ्दै गएको सेवाग्राहीको संख्या र बाहिरी जिल्लाको समेत केन्द्रविन्दु बन्दै गएको अवस्थामा स्वास्थ्यचौकीलाई थप स्तोरन्नती गर्न आवस्यक रहेको छ ।