शिशिर सिंखडा
भरतपुर, २२ कार्तिक ।नेकपा एमाले चितवनका अध्यक्ष एवम् प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ का संयुक्त वामपन्थी उम्मेदवार कृष्णभक्त पोख्रेलले चितवनका सबै क्षेत्रमा संयुक्त वामपन्थी गठबन्धन विजयी हुने बताएका छन् । पूर्व साँसद एवम् संविधान लेखनमा महत्वपूर्ण भूमिका खेलेका एमाले नेता पोख्रेलले स्थानीय निर्वाचनमा चितवनका अधिकाँश स्थानमा आफ्नो गठबन्धन विजय भएको भन्दै नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त गठबन्धन चितवनका ९ वटै क्षेत्रमा विजयी हुने दावी समेत गरेका छन् । हामीले चितवनका जनता माझ मन जितेका छौं, काम गरेका छौं, त्यसैले जनताले भोट दिएर हामीलाई विजयी गराउने छन्, पोख्रेलले भने ।
संविधान लेखनको समयमा पनि वामगठबन्धनले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उम्मेदवार पोख्रेलले अब हाम्रो एजेण्डा चितवन जिल्ला र देशलाई नै समृद्ध बनाउने रहेको बताए । निशुल्क शिक्षा, स्वास्थ्य र रोजगार पहिलो प्राथमिकता रहेको भन्दै पोख्रेलले वाम गठबन्धनको सरकारले मात्र मुलुक समृद्ध बनाउन सक्ने बताए । भरतपुर वडा नं. १२ भोजाडमा वामपन्थी लोकतान्त्रिक गठबन्धनको क्षेत्रीय कार्यालय उद्घाटन गर्दै पोख्रेलले वामपन्थी गठबन्धनलाई विजयी गराउन अनुरोध समेत गरे ।
उम्मेदवार पोख्रेलले चितवनको ३ नं. क्षेत्रमा देशका पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई उम्मेदवार पाउनु चितवनबासीको गौरव रहेको बताए । अब देशको नेतृत्व चितवनले गर्ने अवसर पाएको भन्दै पोख्रेलले चितवनकै १ नं. निर्वाचन क्षेत्रमा पूर्व सफल अर्थमन्त्री सुरेन्द्र पाण्डेको उम्मेदवारीले झन् चितवनबासी हर्षित भएको बताए । देशलाई नै आर्थिक समृद्धिको मार्गदर्शन गर्न सक्ने सुरेन्द्र पाण्डे र देशकै अभिभावक पूर्व प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल सहित वाम गठबन्धनका सबै उम्मेदवारलाई चितवनवासीले विजयी गराउनेमा हामी ढुक्क छौं, पोख्रेलले भने ।
सोही कार्यक्रममा प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ प्रदेश “ख” का उम्मेदवार विजय सुवेदीले देश समृद्ध बनाउने योजनाका साथ वाम गठबन्धन अगाडि बढेको भन्दै चितवनलाई देशकै आर्थिक नगरीको रुपमा विकास गर्न आफु प्रतिवद्ध रहेको बताए । यो देशको विकास र प्रगतिको लागि बहुमतको सरकार आवश्यक रहेको भन्दै सुवेदीले संयुक्त वाम गठबन्धनको विकल्प नभएको समेत उनले बताए ।
सुकुम्वासी, पूर्जा विहिनको समस्या पहिलो प्राथमिकता – उम्मेदवार दाहाल
संयुक्त वामपन्थी गठबन्धन अन्तर्गत प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ प्रदेश “क” का उम्मेदवार घनश्याम दाहालले सुकुम्वासी, भूमिहिन, पूर्जाविहिनहरुको समस्या आफ्नो पहिलो एजेण्डा रहेको बताएका छन् । क्षेत्र नं. २ अन्तर्गत कालिका नगर स्तरीय संयुक्त वामपन्थी गठबन्धनको कार्यालय उद्घाटन गर्दैै माओवादी केन्द्रका नेता एवम् उम्मेदवार दाहालले भूमिहिन, सकुम्वासी, बाढीपिडितहरुलाई प्रदेशको निर्वाचन लगत्तै बन्ने सरकारले स्थानीय निकायसँग समन्वय गरी जग्गाधनी पूर्जा वितरण गर्ने समेत बताए । शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेण्टी गर्न हाम्रो गठबन्धन प्रतिवद्ध रहेको भन्दै दाहालले शक्तिखोरमा बन्ने औद्योगिक क्षेत्र छिटो भन्दा छिटो सम्पन्न गराई देशकै आर्थिक वृद्धि गर्न र यस क्षेत्रका जनतालाई रोजगारीको ग्यारेण्टी गर्न समेत आफु प्रतिवद्ध रहेको दाहालले बताए ।
शक्तिखोर हुँदै सिद्धिसम्म कालोपत्रे, पहाडी क्षेत्रमा एकिकृत बस्ती, पहाडी क्षेत्रमा व्यवसायिक फलफूल खेती, शक्तिखोर, सिद्धि, गढी, सिराइचुली, हात्तीवाङ्ग क्षेत्रलाई चेपाङ पैदल मार्गका रुपमा विकास गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य रहेको समेत उनले बताए ।
उम्मेदवार सहितको उपस्थितिमा आज नै कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल, वडा नं. २ पदमपुर, वडा नं. ७ सगुनटोल, वडा नं. ८ शक्तिखोरमा पनि संयुक्त कार्यालय उद्घाटन गरिएको थियो । सो कार्यक्रममा पूर्व स्थानीय विकास मन्त्री एवम् एमाले सल्लाहकार परिषदका केन्द्रीय सदस्य केशवलाल श्रेष्ठ, माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायण दाहाल, कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ, नेकपा एमाले सचिवालय सदस्य एवम् वडा नं. ६ का वडाध्यक्ष बिनोद रेग्मी, माओवादी केन्द्रका नेता सविता लामा, इश्वर सापकोटा, एमाले नेताहरु जयचन्द्र प्रसाद चौधरी, टिकाराज रिजाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तैगरी चितवन क्षेत्र नं. १ प्रदेश “क” का वामपन्थी गठबन्धनका उम्मेदवार दावा लामा, १ “ख” का उम्मेदवार कृष्ण प्रसाद खनाल, ३ “क” का उम्मेदवार कृष्ण भुर्तेल, ३ “ख” का उम्मेदवार रामलाल महतोले पनि आ–आफ्नो क्षेत्रमा संयुक्त वाम गठबन्धनको कार्यालय उद्घाटन एवम् संयुक्त कार्यकर्ता माझ मन्तव्य व्यक्त गरेका थिए ।