सुमन सुबेदी
चितवन : भरतपुर महानगरअन्तर्गत भरतपुर–२५ चन्द्रकलादेवीस्थान टोल विकास क्षेत्रमा सञ्चालित मङ्गलम पोल्ट्रीले फैलाइरहेको दुर्गन्धका कारण स्थानीय बासिन्दा सँगै नजिकै रहेको चितवन राष्ट्रिय निकुञ्ज का वन्यजन्तु समेत प्रत्यक्ष प्रभावित भएको गुनासो बढ्दै गएको छ।
स्थानियका अनुसार पञ्चरत्न ह्याचरीको जग्गामा सञ्चालनमा रहेको सो पोल्ट्री फर्मले करिब २५ हजार लैयर्स कुखुरा पालेको छ। गर्मी मौसममा झनै बढ्ने दुर्गन्धका कारण टोलभरि दुर्गन्ध फैलिने, स्वास्थ्यमा समस्या देखिने र बालबालिकादेखि बृद्ध–बृद्धासम्म असहज हुनुपरेको बुझिएको छ।

यो समस्या समाधान गर्न स्थानीयले वडा कार्यालय सँग पटक–पटक अनुरोध गरे पनि सुनुवाइ नभएको उनीहरूको गुनासो छ। स्थानीय वासिन्दा राम्ररी हुँदैन भनेर पटक–पटक भेटेर अनुरोध गरे पनि फर्मले दुर्गन्ध नियन्त्रणमा कुनै प्रभावकारी कदम नचालेको उनीहरूको आरोप छ।
दुर्गन्धकै कारण निकुञ्ज नजिकका क्षेत्रमै पहिले झैँ देखिने मृग लगायतका वन्यजन्तु हालका दिनमा देखिन छाडेको स्थानीयको दाबी छ। दुर्गन्धबाट वन्यजन्तु त्रस्त भई बसोबास क्षेत्र नै परिवर्तन गरेको हुनसक्ने अनुमान स्थानीयले गरेका छन्।
स्वास्थ्य समस्या, वातावरणीय प्रभाव र वन्यजन्तु संरक्षणसम्बन्धी गम्भीर चिन्ता बढ्दै गएपछि स्थानीय बासिन्दाले सम्बन्धित निकायले छिटो हस्तक्षेप गरी प्रभावकारी कारबाही र समाधान खोज्न माग
गरेका छन्।


इच्छाखबर संवाददाता












