मुग्लिन,१५ भदौ :  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले बागमतीमा प्रहरीका लागि भवन अभाव नहुने बताउनुभएको छ । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजारमा नवनिर्मित ट्राफिक प्रहरी कार्यालय भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्नुुहुदैँ मुख्यमन्त्री बानीयाँले  बागमतीका ११९ वटै पालिकामा प्रहरीको भवन अभाव नहुने गरि  व्यवस्था मिलाउने बताउनुभएको हो ।
अस्थाई पोष्टहरु बनेका छन् तर राम्रो छैन । उहाँले भन्नुभयो, “चौकी र  इलाकाहरु समेत राम्रो बन्न सकेको छैन आगामी दिनमा बागमती प्रदेशका ११९वटै पालिकामा  आवश्यक प्रहरी  भवन बनाउने र  व्यवस्थित ट्राफिक व्यवस्थापन गर्ने काम मेरो नेतृत्वकै सरकारले गर्ने छ ।”ट्राफिक प्रहरी कार्यालय मुग्लिनको  भवन निर्माणका लागि सहयोग गर्ने स्थानीय र इच्छाकामना गाउँपालिकाका जनप्रतिनिधिहरुलाई धन्यवाद दिनुभयो ।प्रदेश सरकारबाट आवश्यक सहयोग गर्ने  प्रतिवद्धता जनाउनुभयो ।

540610302_1355176676615872_2151780780478744915_n1756650318.jpg
इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले विकास निर्माणका लागि जनसहभागिता आवश्यक हुने बताउनुभयो । ट्राफिक भवन निर्माणका लागि बनेको समितिको सक्रियता र स्थानीयहरुको साथले भवन निर्माण भएकोमा खुशी व्यक्त गर्दै अध्यक्ष गुरुङले जनताको सेवक प्रहरी लगायत सुरक्षाकर्मीहरुका लागि  आगमी दिनमा  पनि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख (प्रहरी निरीक्षक) गायात्रीराज शर्माले सार्वजनिक सेवा प्रवाह गरिरहदाँ आवश्यक स्रोत साधन उपलब्ध भएमा राज्य र जनतालाई दिने सेवा प्रभावकारी हुने बताउनुभयो ।राजधानी प्रवेश गर्ने मुख्य केन्द्र यहाँ सवारीको चाप हुने  भएकाले यहाँ थोरै कमजोरी हुदाँ सिंगो राज्य र प्रहरी संगठनमाथि नै पश्न उठ्न सक्ने बताउनुभयो । सेवालाई प्रभावकारी बनाउन आवश्यक स्रोत साधन मध्ये भवन पनि आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा भवन निर्माण समितिका  सह–सचिव राजेन्द्र त्रिपाठीले भवन निर्माणको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।   उहाँका अनुसार गाउँपालिकाको रु २९ लाख र  विभिन्न दाताहरुबाट रु ८ लाख गरि ३७ लाखमा भवन निर्माण कार्य सम्पन्न भएको हो ।
भवन निर्माण समितिका  अध्यक्ष सावित्री पुडासैनी खनालले  भवन निर्माणका लागि सहयोग पु-याउने गाउँपालिका र  विभिन्न सहयोगीहरुलाई  धन्यवाद दिनुभयो ।  साथै उहाँले मुग्लिनको पुरानो पुललाई संरक्षण गर्नका लागि  आवश्यक सहयोग गरिदिन मुख्यमन्त्रीलाई  आग्रह गर्नुभयो । यहाँ पर्यटकहरुको चहलपहल हुनका साथै यहाँबाट नदीमा हाम फाली  आत्महत्या गर्ने क्रम बढेकाले यसको रोकथामका लागि आवश्यक संरचना निर्माण गर्न आवश्यक रहेको उहाँको भनाई छ।

समुद्घाटन कार्यक्रममा पूर्वमन्त्री तथा बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवाल, गाउँपालिका पूर्व अध्यक्ष गीता कुमारी गुरुङ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख  (प्रहरी उपरीक्षक) गोविन्द पुरी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर,चितवनका प्रमुख (प्रहरी उपरीक्षक)नरेशराज सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा जनप्रनिधि विभिन्न संघसंस्थाका प्रनितिनिधिहरुको उपस्थिति रहनुभएको थियो ।  सो अवसरमा भवन निर्माणका लागि सहयोग गर्ने  दाताहरुलाई प्रमाणपत्र र खादा लगाएर सम्मान गरिएको थियो ।  भवन निर्माण समितिका  सचिव विष्णु कुँवरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।