गण्डकी, २२ साउन : गोरखाको गण्डकी गाउँपालिकाले दुहुना गाई र भैंसी पाल्ने किसानलाई अनुदान दिने भएको छ । गाउँपालिकाको १४१औं कार्यपालिका बैठकले दुहुना भैंसीपालक किसानलाई रु १०,००० र दुहुना गाईपालकलाई रु ५,००० अनुदान दिने निर्णय गरेको हो। कार्यपालिका बैठकले उक्त कार्यबिधि समेत पास गरेको पालिका अध्यक्ष दीपक तिमिल्सिना ‘सकार’ले जानकारी दिनुभयो ।
स्थानीय किसानलाई पशुपालनतर्फ आकर्षित गर्न र दुधजन्य उत्पादनमा आत्मनिर्भरता बढाउन यो कार्यक्रम ल्याइएको पालिका अध्यक्ष ‘सकार’को भनाइ छ। गण्डकी गाउँपालिकाले यसअघि पनि तरकारी किसानलाई उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। पालिकाले उत्पादन र श्रमलाई प्राथमिकतामा राखेर कृषि क्षेत्रलाई व्यावसायिक बनाउने योजना अघि समेत सारेका उहाँले बताउनुभयो ।
इच्छाखबर संवाददाता












