इच्छाकामना :  चितवनको इच्छाकामना गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को तेश्रो चौमासिक  सार्वजनिक सुनुवाई बुधबार सम्पन्न भएको छ । सो अवसरमा  गाउँपालिकाले गत आर्थिक वर्षका योजना पूर्णरुपमा सफल भएको दाबी गरेको छ।गाउँपालिकाबाट आर्थिक वर्षभरी भएका खर्च, आयोजनाको भुक्तानी, ऐन कार्यान्वयनलगायत सबै विषयमा सकारात्मक नतिजा आएको बताएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतका अनुसार इच्छाकामना गाउँपालिका गत आर्थिक वर्षमा पुँजिगत खर्चतर्फ चितवन जिल्लाकै उत्कृष्ट पालिका बनेको छ ।
पुँजीगत खर्चतर्फमात्रै ८७ प्रतिशतभन्दा बढी खर्च गर्न सफल भएको उहाँले बताउनुभयो । चालू खर्चतर्फ पनि ८४ प्रतिशतभन्दा बढी खर्च भएको देखिएको छ । ऐन नियमतर्फ पनि तीन वटा ऐन र सातवटा कार्यविधी बनाएको गाउँपालिकाले त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिनुभयो। गत आर्थिक वर्षमा ग्रामीण विकासलाई विशेष प्राथमिकतामा राखेर काम गर्दैै आएको उहाँको भनाइ छ ।
इच्छाकामनाको ग्रामीण क्षेत्रलाई कृषिसँग जोड्नको लागि पनि किसानलक्षित कार्यक्रमलाई प्राथमिकता दिँदै आएको उहाँले प्रष्ट पार्नुभयो । वर्षभरि भएका ३८५ वटा योजनाको भुक्तानी भइसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रकृया नपुगेका दुईवटा योजनाबाहेक वर्षभरिका सबै योजनाको भुक्तानी भइसकेको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बस्नेतबाट गाउँपालिकाले वर्षभरि गरेको कार्यप्रगतिसमेत प्रस्तुत गरिएको थियो ।
गाउँपालिकाकी कार्यवहाक अध्यक्ष माया सिलवालले ग्रामीण भेगमा खेतीपाती गरेर बसेका नागरिकलाई आयआर्जनको बाटोमा अघि बढाउनको लागि गाउँपालिकाले विगतका वर्षहरुदेखि नै ग्रामीण विकासमा काम गरिरहेको बताउनुभयो । गाउँ सबै खाली हुने अवस्थामा आइपुगेको हुदाँ त्यसलाई रोक्नको लागि पनि ग्रामीण कृषिमा जोड दिँदै आएको उहाँले बताउनुभयो । त्यसबाहेक शिक्षा, स्वास्थ्य, सामाजिक विकास, भौतिक पूर्वाधारलाई पनि आवश्यकता र गाउँपालिकाको क्षमताअनुसार विकास गर्दै लगेको कार्यवहाक अध्यक्ष सिलवालको भनाइ छ ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले इच्छाकामना गाउँपालिकाको कार्यप्रगतिले समग्र गाउँवासीमा खुसीयाली छाएको बताउनुभयो। पालिकाको प्रगति हुनु भनेको गाउँवासीको प्रगति हुनु हो भन्ने कुरा सबैले बुझ्न आवश्यक रहेको उनले बताउनुभयो । पहाडी क्षेत्रलाई कृषि विकासको रुपमा जोडेर त्यस क्षेत्रका नागरिकलाई गाउँ छाड्नबाट रोक्ने गाउँपालिकाको प्रयास पनि सह्राहनीय भएको उहाँले बताउनुभयो  । खेतीपातीबाटै समृद्धि सम्भव छ भन्ने बुझाउनको लागि पनि गाउँपालिकाले सुन्तला प्रजातिका बिरुवा अनुदान, कृषि एम्बुलेन्समा अनुदान, बाख्राको खोर निर्माणजस्ता कार्यक्रमले गाउँपालिकाबाट स्थान पाएको उहाँको भनाइ छ ।
नेपालको पहाडी क्षेत्रमा उत्पादन भएकै कागतीले विश्व बजारमा ‘ब्राण्ड’ बनाइरहेको उदाहरण दिँदै चितवनको इच्छाकामनाको गाउँमा उत्पादन भएका हरेक कृषि उपजलाई पनि ब्राण्ड स्थापित गराउनमा सबैको साथ र सहयोग उत्तिकै आवश्यक रहेको जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले बताउनुभयो ।
इच्छाकामना गाउँपालिकाले पालिकाको कार्य राम्रो हुँदाहुँदै पनि केही कुरामा सुधार गर्नुपर्ने सहभागीहरुले बताएका छन् । बुधबार गाउँपालिकाको कार्यालयमा भएको आर्थिक वर्ष २०८१÷८२ को तेस्रो चौमासिकको सार्वजनिक सुनुवाइका क्रममा उपस्थित भएका स्थानीय एवम् राजनैतिक दलका प्रतिनिधिहरुले काम गर्दै जाँदा कमिकमजोरी भए पनि त्यसलाई सुधार्दै लैजानु पर्ने सुझाव दिएका हुन् ।गाउँगाउँमा सुविधा दिँदै गए पनि गाउँ छाड्नेको क्रम नरोकिएको हुँदा त्यस्ता गाउँहरुमा अनुदानको कार्यक्रम लैजान उपयुक्त हो कि होइन भनेर गाउँपालिकाले समीक्षा गर्नुपर्ने स्थानीय मोदराज सिलवालले सुझाव दिनुभयो । ग्रामीण क्षेत्रमा प्रोत्साहनका नाममा विभिन्न खालका कार्यक्रम लैजाँदै गर्दा बजारी क्षेत्रमा व्यवसायीलाई प्रोत्साहन दिने खालका कार्यक्रमसमेत अवाश्यक रहेको उहाँले बताउनुभयो ।
दलित मुक्ति समाज इच्छाकामनाका अध्यक्ष चन्द्रबहादुर परियारले दलितका मुद्धालाई गाउँपालिकाले कम स्थान दिएको आरोप लगाउनुभयो । दलित, भूमिहीन तथा सुकुम्बासीलाई गाउँपालिकाले संविधानले दिएको अधिकारअनुसार काम नगरेको उहाँले बताउनुभयो । संविधानले दिएको अधिकारमा टेकिदिने हो भने इच्छाकामनाका दलित समुदालयले पनि स्थानीय सरकार भएको महसुस गर्न सक्ने उहाँको भनाइ छ ।
नेकपा माओवादी केन्द्र इच्छाकामनाका अध्यक्षसमेत रहेका व्यवसायी रामहरि कँडेलले पछिल्लो समय स्थानीय व्यवसाय धमाधम बन्द हुने अवस्थामा आइपुगेको हुँदा यस्तो अवस्थामा स्थानीय सरकारले चासो दिनुपर्ने सुझाव दिनुभयो । व्यवसायीहरुको सुरक्षा संरक्षणको लागि तीनै तहको सरकार उत्तिकै जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ छ ।
नेकपा माओवादी केन्द्र इच्छाकामनाका इञ्चार्ज एवम् सञ्चार उद्यमी प्रताप गुरूङले जनप्रतिनिधिहरुबाट पालिकाभित्रका कतिपय वेथितिमा अनदेखा गरिएको आरोप लगाउनुभयो । नेकपा एमाले इच्छाकामनाका अध्यक्ष प्रकाश अधिकारीले गाउँपालिकाबाट काम भए पनि जनताको आगनमा पुगेको छ कि छैन भन्ने विषयमा जनप्रतिधिले ध्यान कम दिएको बताउनुभयो ।  यस्ता कमिकमजोरीलाई सुधार्दै लैजान सके गाउँपालिकाको इज्जत अझ बढ्ने उहाँको भनाइ छ ।
नेपाली कांग्रेस इच्छाकामनाका सभापति कृतिकुमार श्रेष्ठले इच्छाकामना गाउँपालिकाको मुख्य समस्या भनेकै फोहोरमैला व्यवस्थापन भएको हुँदा त्यसतर्फ जनप्रतिधिनिको चासो बढ्नुपर्ने बताउनुभयो ।सार्वजनिक सुनुवाइका क्रममा आएका प्रश्न र जिज्ञासामाथि गाउँपालिका उपाध्यक्ष माया सिलवाल र प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले उत्तर दिनुभएको थियो  । प्रमुखश प्रशासकिय  अधिकृत बस्नेतले  सार्वजनिक रुपमै आएका सुझावलाई कार्यान्वयन गराउँदै आगामी दिनमा गाउँपालिकालाई सुशासनयुक्त स्थानीय सरकारको रुपमा विकास गर्न सकिने बताउनुभयो । तर, कतिपय टिप्पणीहरु आधारहीन भएको हुँदा कसैले भनेको भरमा भ्रममा पर्न नहुने सुझावसमेत दिनुभयो ।