इच्छाकामना : चितवनको इच्छाकामना गाउँपालिकाले उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गत ४ हजार ५२५ केजी पशु आहार (डीडीसी दाना) वितरण गरेको छ। वडा नं. १ देखि ७ सम्मका ७८ जना किसानले यो सहयोग प्राप्त गरेका छन्। २१० गाइभैसीलाई लक्षित गरि दाना वितरण गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत, वडा नं. ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, पशु चिकित्सक डा. विमोचन पौडेल लगायतको उपस्थितिमा किसानहरूलाई पशु आहार हस्तान्तरण गरिएको हो।
उपाध्यक्ष माया सिलवालले गाउँपालिका स्तरमै उत्पादनमुखी कार्यक्रमलाई प्रोत्साहन गर्न किसानलाई उत्पादनमा आधारित पशु आहार वितरण गरिएको बताउनुभयो । यस्तो खालका कार्यक्रमले दुग्ध उत्पादनमा सुधार ल्याउनुका साथै किसानलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने उपाध्यक्ष सिलवालको भनाई छ ।
स्थानीय किसानहरूले पनि पालिकाबाट प्राप्त यो सहयोगले पशुपालनमा थप उत्साह मिलेको बताएका छन्। गाउँपालिकाले भविष्यमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
इच्छाखबर संवाददाता












