इच्छाकामना , १६ असार । चितवनको इच्छाकामना गाउँपालिकाले स्थानीय किसानहरूलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा सुन्तला, कागती र कफीका विरुवाहरू वितरण गरेको छ।गाउँपालिका कृषि शाखाका प्राविधिक आशिष त्रिपाठीका अनुसार यसपालि सुन्तलाका कलमी २ हजार ६ सय र बिजु १५ हजार, कागतीका कलमी ८ सय र बिजु २ हजार ६ सय, साथै कफीका ५ सय वटा बिरुवा वितरण गरिएको छ।
यस वितरण कार्यक्रमले किसानहरूमा निकै उत्साह थपेको छ। वडा नम्बर ३ का कृषक भीम बहादुर गुरुङले गाउँपालिकाले कम मूल्यमा विरुवा उपलब्ध गराएकामा खुसी व्यक्त गर्दै भन्नुभयो, “५० प्रतिशत अनुदानमा विरुवा पाएपछि किसानले धेरै मात्रामा रोप्न सक्छन्, जसले गर्दा व्यवसायिक खेतीतर्फ उन्मुख हुने सम्भावना बढेको छ।”
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम भइरहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “सुन्तला, कागती वा कफीका विरुवा मात्र वितरण होइन, हामी समग्र कृषि क्षेत्रको विकासलाई लक्ष्य बनाएर अगाडि बढिरहेका छौं। किसानको उत्पादनशीलता वृद्धि र आत्मनिर्भरता हाम्रो प्रमुख उद्देश्य हो।”
यस प्रकारको कार्यक्रमले दीर्घकालीन रूपमा कृषकहरूको जीवनस्तर उकास्ने विश्वास लिइएको छ। इच्छाकामना गाउँपालिकाको यो पहलले स्थानीय तहमा कृषि यान्त्रीकरण र बहुवर्षीय बालीतर्फको लगानीलाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
इच्छाखबर संवाददाता












