
इच्छाकामना : चितवनको इच्छाकामनामा विपन्न चेपाङ समुदायका लागि ४५ घर निर्माण गरेका छन् । जनता आवास कार्यक्रम मार्फत ती घरहरु निर्माण भएका हुन् । वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीका अनुसार वडा नम्बर ४ मा यस चालु आर्थिक बर्षमा मात्र सात वटा घर निर्माण भएका छन्। विपन्न चेपाङ परिवार छनौट गरि घर निर्माण गरिदिएकोे उहाँले बताउनुभयो । वडाध्यक्ष उप्रेतीका अनुसार घर निर्माणमा लाभग्राहीले घडेरी सम्याउने र जग हाल्ने काम आफै गर्नुपर्ने हुन्छ ।उहाँले भन्नुभयो,“घडेरी सम्याउने र जग हाल्ने सम्मको काम लाभग्राहीको हो भने अरु काम सबै गाउँपालिकाले गरिदिन्छ । ”
अहिले निर्माणका भएका ती घरहरुको अनुगमन कार्य भइरहेको उपाध्यक्ष माया सिलवालले बताउनुभयो । अनगुमन पश्चात अबको केही दिनमा घरधनीलाई हस्तान्तरण गर्ने उपाध्यक्ष सिलवालको भनाई छ ।
जनता आवास कार्यक्रम अन्तर्गत यस चालु आर्थिक बर्षमा इच्छाकामना गाउँपालिकामा रहेको सात वटै वडामा गरि ४५ वटा घर निर्माण भएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिनुभयो । रु.३ करोड १५ लाख लागतमा ४५ वटा घरहरु निर्माण गरिएका हुन्। एक घर निर्माणका लागि लाभग्राहीलाई रु सात लाख उपलब्ध गराउँदै आएको छ । इच्छाकामना गाउँपालिकामा कुल जनसंख्याको ३७ प्रतिशत चेपाङ समुदायको बसोबास रहेको छ ।आगामी आर्थिक बर्षको निति तथा कार्यक्रममा पनि गाउँपालिकाले विपन्न चेपाङ समुदायलाई लक्षित गरि चेपाङ आवास कार्यक्रम समेटिएको उहाँको भनाई छ । गाउँपालिकाले गत आर्थिक बर्षमा पनि २२ वटा घर निर्माण गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।