
इच्छाकामना : चितवनको इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ७८ करोड १५ लाख ३६ हजार रूपैयाँ बजेट ल्याएको छ । आइतबार गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालद्वारा प्रस्तुत बजेटमध्ये केन्द्र सरकारबाट ४६ करोड ३६ लाख र प्रदेश सरकारबाट छ करोड ९८ लाख ५७ हजार आय हुने अनुमान गरिएको छ ।
त्यसमा पनि सङ्घीय राजस्व बाँडफाँडबाट नौ करोड ६८ हजार र प्रदेशतर्फको राजस्व बाँडफाँडबाट चार करोड ३५ लाख रूपैयाँ आय हुने अनुमान गरिएको छ । आन्तरिक राजस्व दश करोड ३२ लाख रूपैयाँ आम्दानी हुने अनुमान गरिएको विनियोजित बजेटमा उल्लेख छ । यस्तै व्ययतर्फ भने चालू खर्चको लागि ४३ करोड ३२ लाख ३६ हजार र पुँजीगततर्फ ३४ करोड ५३ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
सङ्घ र प्रदेशबाट हस्तान्तरित अनुदान फिर्ताको लागि दुई करोड ५० लाख र गत आर्थिक वर्षको भुक्तानीका लागि ७० लाख रूपैयाँ विनियोजन गरिएको गाउँपालिकाकी उपाध्यक्ष सिलवालले बताइन् । आर्थिक विकासतर्फ छ करोड ४० लाख ८५ हजार, सामाजिक विकासतर्फ ३५ करोड १६ लाख ९१ हजार, पूर्वाधार विकासतर्फ २५ करोड ७९ लाख छ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ एक करोड ५६ लाख ३० हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ एक करोड २२ लाख २१ हजार विनियोजन गरिएको उहाँले बताउनुभयो ।
आउँदो आर्थिक वर्षको लागि पाँच वटै विषयगत क्षेत्रलाई समेट्ने प्रयास गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताउनुभयो ।
उपाध्यक्षले आगामी वर्षको बजेट प्रस्तुत गर्नुपूर्व अध्यक्ष दानबहादुर गुरूङमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । पालिकाको नीति तथा कार्यक्रममा समग्र इच्छाकामना गाउँपालिकाको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्ने, सीमान्तकृत तथा पिछडिएका वर्ग, लिङ्ग र क्षेत्रलाई आर्थिक लाभमा रूपान्तरण गर्नेलगायतका विषय समेटिएको छ । यस्तै युवालाई आफ्नै ठाउँमा स्वरोजगार बन्ने, उद्यमशीलमार्फत गरिबी न्युनीकरण गर्ने दिशामा इच्छाकामना गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत भएको अध्यक्ष गुरूङले बताउनुभयो ।
कृषि,शिक्षा, स्वास्थ्य, भौतिक पुर्बाधार,पर्यटन बिकास,सिपमुलक तालिममा बिशेष प्राथमिकता दिइएको छ ।