
काठमाडौं : अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपाली नागरिकहरू आज काठमाडौं फर्किंदैछन्। उनीहरूलाई लिएर आएको अमेरिकी चार्टर्ड विमान आज अपराह्न करिब ४ : १५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता तथा वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले डिपोर्ट गरिएका नेपालीहरूको आगमन पुष्टि गरे पनि कति जना आउँदैछन् भन्ने यकिन संख्या भने अझै नखुलेको जानकारी दिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा पदभार सम्हालेपछि हालसम्म १४० जना नेपालीलाई अमेरिका सरकारले डिपोर्ट गरिसकेको छ।
डिपोर्ट भई फर्केका नेपालीहरूको अध्यागमन प्रक्रिया पूरा भएपछि मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछ गर्ने गर्छ। यदि उनीहरू कुनै मानव तस्करको सिकार भएका थिए र उजुरी दिएका छन् भने सम्बन्धित दलालविरुद्ध अनुसन्धान प्रक्रिया अगाडि बढाइन्छ।