
इच्छाकामना ,९ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाले स्थानीय विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७४ संसोधन गरेको छ । शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले कार्यविधि संशोधन गरेका हुन् ।
संशोधित कार्यविधिमा विपद्का घटनाहरु बाढी–पहिरो आगालागी, चट्याङ लगायतबाट घरमा क्षती पुगे रु एक लाख सम्म र मानिसको मृत्यु भएमा तत्काल क्रिया खर्च ५० हजार रुपैयाँ उपलब्ध गराउने उल्लेख छ ।
साथै पक्की घरमा पूर्ण क्षती भएमा रु ३० हजार उपलब्ध गराउँदै आएकोमा उक्त रकम बढाएर रु.एक लाख र कच्ची घरमा पूर्ण क्षती भएमा रु ५० हजार सम्म उपलब्ध गराउने छ । यस अघि विपद्का घटनाबाट राहत रकम रु ५ हजार देखि १० हजार सम्म उपलब्ध गराउँदै आएको थियो । साथै गम्भीर घाइते भएमा बढीमा तत्काल रु.१५ हजार सम्म उपलब्ध गराउने छ । यस अघि स्थानीय विपद् व्यवस्थापन समितिको आजै बसेको बैठकले कार्यविधि संसोधनको प्रस्ताव गर्ने निर्णय गरेका थिए । समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेका थिए ।
यसै बिच सात वटै वडामा विपद्का समयमा प्रयोग हुने विभिन्न सामाग्रीहरु प्रदान गरिएको छ। वडा नम्बर ५ को सामाग्री ईलाका प्रहरी कार्यालय मुग्लिनलाई प्रदान गरिएको छ । हाल पालिकामा ८० थान त्रिपाल सहित विभिन्न विपद्मा प्रयोग हुने सामाग्रीहरु तयारी अवस्थामा रहेको प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले बताउँनुभयो ।