इच्छाकामना : नयाँ बर्ष २०८२ को अवसरमा पर्यटकीय स्थल चितवनकै अग्लो भूमि सिराइचुलीमा मेला लाग्ने भएको छ । विगतका बर्षहरुमा जस्तै चितवनको इच्छाकामना १ सिराइचुलीमा अवस्थित श्री सिद्ध देवि माई मन्दिर प्रांगणमा मेला लाग्ने भएको हो ।
सिराइचुली आमा समूहको आयोजनामा हुने मेलामा सांस्कृतिक कार्यक्रम पनि हुने छ । मेलाको अवसरमा श्री सिद्ध देवि माई मन्दिरमा बाजागाजासहित फुलको डोली समेत भित्र्याइन्छ ।
बिहानी सूर्योदय अवलोकन सगैँ यो समयमा लाली गराँस,अइसेलु र काफलको सिजन भएको स्थनिय किरण पुरीले बताउनुभयो । पुरीका अनुसार यो सिजनमा लाली गुँरास अवलोकनसगैँ अइसेलु र काफलको स्वाद लिने अवसर मिल्ने छ ।
जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको वडा नं १ मा पर्ने सिराइचुलीडाँडा समुद्री सतहदेखि करिब एक हजार ९४५ मिटरको उचाइमा छ । यहाँबाट बिहानी सूर्योदयसँगै तराईका फाँटहरुका साथै हिमालका आकर्षक दृश्यहरु हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्छन् ।
हरेक वर्ष वैशाख १ गतेका दिन भव्य मेलासमेत लाग्ने भएका कारण नयाँ वर्षका दिन यहाँ पर्यटकहरुको भीड लाग्ने गर्छन् । मेला विहानको सुर्यदयसगैँ सुरु भई दिनभर लाग्ने गर्छ ।
इच्छाखबर संवाददाता












