
विशालटार : धादिङको बेनीघाट रोराङमा पालिकासँग महिलाको कुरा’कार्यक्रम सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व सांसद कञ्चन खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । फागुन २४ गते ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।सोही अवसर पारेर गाउँपालिकाले मंगलबार कार्यक्रम आयोजना गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि खनालले महिला पुरुष सरह सबै क्षेत्रमा सक्षम भएको बताउनुभयो । नेपालमा संघीय गणतन्त्र स्थापना गर्नका लागि दश बर्षे जनयुद्धमा महिलाहरुको सहभागिता र संविधान निर्माणका लागि खेलेको भूमिका बारे चर्चा गर्दै खनालले अवसर पाएमा महिलाहरु हरेक क्षेत्रमा सक्षम भएको बताउनुभयो।महिलाहरुले राष्ट्रपति सभामुख प्रधानन्याधिस जस्ता उच्च पदमा रहेर सफलताका साथ आफ्नो भूमिका निर्वाह गरेको बताउनुभयो ।
कार्यक्रममा महिला र बालिकाको हक, अधिकार, समानता र सशक्तीकरण सम्बन्धमा सहभागीहरुले पालिका र समाजका लागि आफ्ना राय, सुझाव राख्नुका साथै ,लैङ्गिक विभेद, सङ्घर्ष झेल्दै जीवनमा सफलता हाँसिल गरेका प्रेरक प्रसंग, सफलताका निजी कथा र प्रेरणात्मक भोगाई राख्ने, किशोर किशोरीले पछिल्लो ५ वर्षमा आफ्नो वरिपरि लैङ्गिक सवालमा भोगेका देखेका सकारात्मक भोगाई र दलित महिला सदस्यले आफू निर्वाचित भए पश्चात् निजी र सामाजिक जीवनमा ल्याउन सकेको सकारात्मक परिवर्तनबारे चर्चा गरेका थिए ।
दलित महिला वडा सदस्यहरू, जनजाति कर्मचारी, समाजका विभिन्न क्षेत्रका महिलाहरूले आफ्ना अनुभव, संघर्ष र अपेक्षाहरू खुलेर राखेका थिए । कार्यक्रममा वडा सदस्य विमला सुनार, वडा नम्बर ५ की सचिव निरा चेपाङ र सम्झना वर्तौलाले आफ्नो अनुभवहरु प्रस्तुत गर्नुभएको थियो । शिक्षा शाखा प्रमुख बोद्यराज पाठकले कविता वाचन र चन्द्रदोय माविका प्रधानाध्यापक रमेश बाबु रेग्मिले गीत प्रस्तुत गर्नुभएको थियो ।
विद्यार्थीहरूबाट महिलाका विगत र वर्तमान अवस्थाको चित्रण प्रस्तुत भएका थिए । विद्यार्थीहरुको संयोजन कञ्चन थपलियाले गर्नुभएको थियो । समान अधिकार, आर्थिक अवसर र नीति निर्माणमा महिलाको भूमिकाको विषयमा गहन छलफल गरिएको थियो । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया ‘विवेक’ले महिलाको सम्मान बिना समृद्धि सम्भव नहुने बताउनुभयो । महिला नेतृत्वलाई प्रभावकारी बनाउन नीति तथा कार्यक्रमहरू लागू गरिने बताउनुभयो । साथै शिक्षा, रोजगारी र आर्थिक अवसरमा समान पहुँच सुनिश्चित,महिला सुरक्षाका लागि कानुनी सुधार र संरक्षण नीति मजबुत बनाइने, स्थानीय तहमा महिला सहभागिता वृद्धि गर्दै उनीहरूको आवाज निर्णय प्रक्रियामा पु¥याइने गाउँपालिकाले प्रतिवद्धता व्यक्त गरेको छ ।
बेनीघाट रोराङ गाउँपालिकाले महिला सहभागिता, नेतृत्व र समावेशी विकासलाई प्राथमिकता दिँदै समानताको दिशामा ठोस पाइला चालेको अध्यक्ष थपलियाको भनाई छ ।
कार्यक्रममा उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नेतृ संगिता कडेँल, एमालेकी हिरा रेग्मी,नेकपा एकिकृत समाजवादीकी गंगा विसुराल लगायतले मन्तव्य राख्नुभएको थियो ।
वडाध्यक्षहरु,राजनितिक दलका महिला नेतृहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम गाउँपालिका अध्यक्ष थपलिया आफैले सञ्चालन गर्नुभएको थियो भने प्रमुख प्रशासकिय अधिकृत नर्बदा घिमिरेले स्वागत मन्तव्यसहित कार्यक्रमको उदेश्य बारे जानकारी गराउनुभएको थियो ।