
मुग्लिन : नारायणगढ –मुग्लिन सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ५ स्थित ३ नम्बर पुलबाट मोटसाइकल दुर्घटना भई त्रिशूली नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ । लमजुङको साविक चन्द्रेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका १ रामनगर बस्ने बर्ष २७ को रोहित रानाको शव ९ दिनपछि आज विहान ७ बजे फेला परेको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार दुर्घटना भएको करिब सय मिटर तल नदीमा तैरीरहेको अवस्थामा फेला परेको हो ।
रानाको शवलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले नदीबाट उद्धार गरि पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । निरीक्षक भण्डारीका अनुसार रोहितका परिवारले शव सनाखत गरिसकेका छन्।
गत फागुन २ गते नारायणगढबाट काठमाडौँतर्फ जाँदै गर्दा रोहित राना सवार बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो। मोटरसाइकल सडकमै अडिएको थियो भने रोहित त्रिशूलीमा खसेका थिए । भारतीय सेनामा कार्यरत रोहित छुट्टीमा घर आएका थिए ।