बेनिघाट :  धादिङको बेनिघाट रोराङ ७ चरौँदीमा श्रीमद् भागवत ज्ञान महायज्ञ हुने भएको छ । आवासीय विद्यालय सञ्चालनका लागि कोष खडा गर्न बेनीघाट रोराङ गाउँपालिकाको आयोजनामा श्रीमद् भागवत ज्ञान महायज्ञ हुने भएको छ । गाउँपालिकाको आयोजनामा  माघ १७ गतेदेखि २३ गते  सम्म महायज्ञ हुने भएको हो ।
बेनीघाट रोराङ रोराङ गाउँपालिकाको शैक्षिक सुधार र समतामुलक शैक्षिक पहुँचलाई केन्द्रमा राखी अघि बढीरहेको र वडा नम्बर ८ मा सात वटा विद्यालयलाई एकिकृत गरि आवासिय विद्यालय सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकले बताउनुभयो । अन्य वडाहरुमा पनि माग रहेको उहाँको भनाई छ । उच्च कुपोषण भोकमरी र बालबालिकाले विद्यालय छाड्ने दर जस्ता चनौतिसँग जुधिरहेको यस बेनघिाट रोराङ गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार र समतामुलक शैक्षिक पहुँचलाई केन्द्रमा राखी अगाडी बढीरहेको उहाँको भनाई छ । कुपोषण र भोकमरीको अन्त्य, गुणस्तरीय शिक्षामा समतामुलक पहुँचको सुनिश्चितताको लागि महायज्ञ आयोजना गरिएको उहाँले बताउनुभयो ।
परम्परागत सोच र सोही बमोजिम अवलम्बन गरिएका कार्यशैलीले नतिजा दिन सक्ने अवस्था नरहेकाले फरक ढंगको सोचका साथ रणनितिक रुपमा स्रोत व्यवस्थापनको विकल्प खोजीनु पर्ने निष्कर्ष सहित कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
राधिका दासको मुखारविन्दबाट कथा वाचन हुने वडा नम्बर ५ का वडाध्यक्ष एवम् गाउँपालिका प्रवक्ता रोशन सिलवालले जानकारी दिनुभयो । कार्यक्रममको मुल समारोह समिति, उपसमिति र वडास्तरीय सहजीकरण समिति निर्माण भई काम तयारीको काम भइरहेको उहाँले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरे,वडा न. ७ का वडा अध्यक्ष कुमार बस्नेत लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।