आँबुखैरेनी  : तनहुँको  आँबुखैरेनी गाउँपालिका वडा नं ६ प्युघरफाटमा सेवा कार्यालय  विस्तार गरेको छ ।   हिलेखर्क जाँदा अप्ठ्यारो परिरहेको , प्युघर फाटको वरिपरिका बस्तीका जनतालाई सहज र छिटो सेवाहरू उपलब्ध गराउने उदेश्यले  सेवा कार्यालय स्थापना गरिएको हो । यस सेवा कार्यालयबाट जनतालाई सरकारी सेवा पुर्याउन सुविधाजनक बनाउने र प्रशासनिक प्रक्रियामा सुधार ल्याउने लक्ष्य राखिएको वडाध्यक्ष  दिलिप गुरुङले बताउनुभयो । उहाँका अनुसार अब हप्ताको  दुई  दिन सेवा कार्यालयबाट नागरिकहरूले विभिन्न सेवा प्राप्त गर्न सक्नेछन्। यस कार्यालयबाट बिभिन्न सेवाहरूको पहुँच विस्तार गरिनेछ र जनताको समस्याहरू छिटो समाधान हुने अपेक्षा गरिएको छ।

‘कार्यक्रममा बोल्दै पालिका अध्यक्ष  शुक्र चुमानले भन्नुभयो,  सेवा कार्यालय विस्तारले जनतासँगको हाम्रो निकटता बढाउनेछ र प्रशासनिक सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउनेछ।’ यस कार्यालयले जनतालाई एक स्थानबाट सहज र छिटो सेवा प्रदान गर्ने व्यवस्था गर्ने र  स्थायी र दीर्घकालिक रूपमा सेवा दिने मुख्य उदेश्य रहेको  अध्यक्ष चुमानको भनाई छ ।

यस सेवा कार्यालयको उद्घाटनले प्युघर क्षेत्रका नागरिकहरूको जीवनस्तर सुधार्ने र प्रशासनको प्रभावकारीता बढाउने दिशा तय गर्ने विश्वास गाउपालिकाले गरेको छ ।
वडाध्यक्ष  दिलिप गुरुङको सभापतित्व तथा गाउँपालिका अध्यक्ष   शुक्र चुमानको प्रमुख आतिथ्यता सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद शर्मा, वडा सदस्यहरू, पूर्व जनप्रतिनिधिहरू, समाजसेवी तथा विभिन्न समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो ।