
ताक्लुङ ः गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले हाम्रो नेपालको मौलिक संस्कृतिको संरक्षण गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ । गोरखाको सहिद लखन गाउँपालिका ४ स्थित अर्लाङदी मन्दिर उद्घाटन तथा विविध सांस्कृतिक कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख धितालले हाम्रो संस्कृति लोप हुदै गएकाले संरक्षणका लागि सबै लाग्नुपर्ने बताउनुभएको हो ।
“ हाम्रो संस्कृति लोप हुने खतरा बढ्दै गएको छ । उहाँले भन्नुभयो, पश्चिमा संस्कृतिबाट घेरिदैँ आएको छ ,संरक्षणका लागि सबै लाग्नुपर्छ ।” साथै सभामुख धितालले हाम्रो लोप हुदैँ गएको संस्कृतिलाई विभिन्न जातजाती भाषा संस्कृतिको रुपमा विकास गर्न यहाँको वडा नम्बरका ४ का वडाध्यक्ष वडा कार्यालय, मन्दिर व्यवस्थापन समितिले प्रयास गरेको तथा गाउँपालिकाले विशेष महत्व दिएकोमा प्रशंसा गर्नुभयो । अझै यस्ता राम्रो कार्यक्रमहरु ल्याउन स्थानीय जनप्रतिनिधि र कलाकारहरुलाई आग्रह गर्नुभयो । एतिहासिक परापुर्वकालदेखी रहेको मन्दिर निर्माणका लागि सहयोग गर्ने पुरातत्व विभागका कर्मचारी, चन्दादाता सबैलाई धन्यवाद दिनुभयो ।
मेलामा, चुड्का झ्याउरे गीत नाच, भजन, सोरठी पञ्चेवाजा,लाखेनाच लगायतका मौलिक संस्कृतिक झल्किने प्रतियोगिताहरु गरिएको वडाध्यक्ष याम बहादुर थापाले बताउनुभयो । साथै भलिबल प्रतियोगिता , बागचाल प्रतियोगिता महिलाहरुबिच सुङ्गुर समात्ने प्रतियोगिता समेत सम्पन्न भएको उहाँले बताउनुभयो ।
उहाँले आफ्नो मौलिक संस्कृति विर्सिएका हजारौँ युवाहरुलाई जोड्ने मालाको रुपमाकाम गरेको बताउनुभयो । साथै मेलामा बजारी जंगफुडको विक्री वितरणमा रोक लगाएको बताउनुभयो । मेलामा कोदो रोटी डिढो, तरुल लगायत स्थानीयले उतपादन गरेका मात्र बिक्री वितरण गर्न पाइने बताउनुभयो ।
सो अवसरमा मन्दिर निर्माण गर्न सहयोग गर्ने सम्पूर्ण चन्दाताहरुलाई सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेशबाबु थापा, उपाध्यक्ष इन्दिरा तिवारी, छिमेकी पालकाका जनप्रतिनिधि वडाध्यक्ष विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेका थिए ।
यसैबिच साँझदेखि भने राष्ट्रिय कालकारहरु, पृथ्वी गुरुङ, निर्जला गुरुङ, बेलीमाया गोरखाली लगायतका कलाकाहरुको प्रश्तुती भइरहेको छ । शनिबार देखि सुरु भएको मेला आज रातभर लाग्ने छ । अर्लाङदी मन्दिर परिसरमा ३० बर्षपछि वडा कार्यालयको आयोजना तथा मन्दिर व्यवस्थापन समितिको सह–आयोजनामा भव्य मेला लागेको हो ।