चितवन :  ट्राफिक प्रहरी कार्यालय चितवनले तोकिएको भाडादर भन्दा बढी भाडा लिने माइक्रोलाई कारबाही गरेको छ । नारायणगढदेखि कुरिनटारसम्मलाई ५५०रुपैयाँ भाडा असुल्ने बा २ ख ९३५३ नम्बरको माइक्रो बसलाई रु. ११,५०० (एघार हजार पाँच सय) जरिवाना गरिएको हो ।    सवारीका सञ्चालकलाई सवारी तथा यातायात व्यवस्था ऐन बमोजिम कारबाही गर्नका लागि  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यातायात व्यवस्था कार्यालय भरतपुरलाई पत्राचार गरेको कार्यालयले जनाएको छ ।  यस आर्थिक वर्षमा तोकिएको भाडादर भन्दा बढी भाडा लिने २७ वटा सवारीसाधनलाई कारवाही गरिएको कार्यालयले जनाएको छ ।  यसरी सार्वजनिक सवारी साधन सुरक्षित र मर्यादित बनाउने अभियान निरन्तर जारी रहेकाले  कोही कसैले बढी भाडा लिने, सवारी साधनमा स्पष्ट देखिने बुझिने गरी भाडादर नटाँस्ने, स्वरुप परिवर्तन गर्ने, निजी सवारीलाई सार्वजनिक सरह सञ्चालन गर्ने वा  अन्य कुनै ट्राफिक नियम उल्लंघन गरी सवारी सञ्चालन गरेको पाएमा  १००, १०३, ९८५५०९०१०० मा सम्पर्क गरी सुचना दिई सहयोग गर्न कार्यालयले अनुरोध गरेको छ ।