कुरिनटार ६ मङ्सिर : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजन भएका माओवादी पार्टीहरु एकताको प्रक्रियामा रहेको बताउनुभएको छ ।चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा शुक्रबार पार्टी कार्यर्ताहरुसँगको भेटघाट तथा छलफल कार्यक्रममा अध्यक्ष प्रचण्डले विभाजनको श्रृङ्खला रोकिएको र एकताको प्रक्रिया सुरु भएको बताउनुभएको हो ।अध्यक्ष प्रचण्डले भन्नुभयो,“अब मिल्नुको विकल्प छैन विभाजनको श्रृङ्खला रोकिएको छ, सबै माओवादीहरु एकताको प्रक्रियामा छ । ”पुन आफ्नै नेतृत्वमा एकतावद्ध भएर अघि बढ्नुपर्छ भन्ने अवस्थामा पुगेको र एकतावद्ध हुने क्रम चलिरहेको उहाँको भनाई छ ।
अध्यक्ष प्रचण्डले देशको विकास र निकासका लागि पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“हामीले पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली भनिरहेका छौँ, अहिले विस्तारै सबै पार्टीका बुद्धिजिविहरु पनि यो कुरा ठिकै हो भन्न थालेका छन् ।” अहिलेको निर्वाचन प्रणालीले राजनीतिक भ्रष्टाचार बढाउने उहाँको भनाई छ ।
साथै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र नेतृत्व सरकारले गरेका राम्रा कामहरुको प्रचार गर्न नसकेको बताउनुभयो ।माओवादी केन्द्रको सरकारको नेतृत्वमा संविधान कार्यन्वयन, किसानहरुको ऋण मिनाहा, लोडसेडिङ मुक्त, सुशासनको अभियन मार्फत ठूला भष्ट्र नेता ,ब्यूरोक्रेट लगायत ठूलो समूहलाई कारबाहीको दायरामा ल्याएको, बर्षैदेखि अड्किएको नागरिकता समस्याको हल,मिटर ब्याजीको समस्या हलका लागि विद्येयक निर्माण लगायतका थुप्रै महत्वपूर्ण काम गरिएको बताउनुभयो । अहिले विकासका लागि लाइफ लाइन बनेको मध्य पहाडी लोकमार्ग हाल पुष्पलाल मार्ग र चुरेको पूर्वपश्चिम राजमार्ग पनि आफैले प्रस्ताव गरेर अघि बढेको बताउनुभयो ।
पार्टी कार्यकर्ताहरुलाई पार्टीले गरेका सम्पूर्ण राम्रा कामहरु बारे जनता सामु प्रष्ट पार्न पनि निर्देशन दिनुभयो ।
उहाँले फेरी जनताले एक पटक माओवादी केन्द्रको नेतृत्व हेर्न चाहेको दाबी गर्नुभयो । माओवादी केन्द्रमा जनलहर बढ्दै गएको उहाँको दाबी छ । कार्यक्रममा इच्छाकामना गाउँपालिकाका अगुवा नेता कार्यकर्ताहरुको उपस्थिति रहेका थिए ।