चितवन : चितवनको पर्यटकीय नगरी रत्ननगर वडा नं ८ सौराहाको बाघमारा स्थित चर्चित होटल जंगल क्राउन प्रा।लि ‘चार तारे’ होटल बन्ने भएको छ । सौराहाकै स्तरीय होटलको रुपमा परिचत होटल जंगल क्राउन सञ्चालनमा आएको १० वर्षपछि ‘४ तारे’ लक्जरी होटलमा स्तरोन्नति हुने भएको हो ।
होटल जंगल क्राउनले ‘४ तारे’ स्तर वृद्धि गर्न नयाँ बन्ने तीन तले ४० कोठे भवनको एक कार्यक्रमका बीच पूर्व पर्यटन मन्त्री प्रेम आलेले शिलन्यास गर्नुभयो । ४३ कोठामा सञ्चालन भइरहेकोे होटलमा थप ४० कोठा थपेर ‘४ तारे’ बनाउन लागेको होटल जंगल क्राउन होटलका सञ्चालक तथा कार्यकारी प्रमुख सन्तोष गिरीले जानकारी दिनुभयो ।
होटलमा बस्ने ग्राहकहरूलाई स्वीमिङ पुल र हेल्थ क्लबको सुविधा निःशुल्क दिने गरि सरकारले तोकेको मापदण्डा पूरा गर्दै ‘४ तारे’ स्तरमा स्तरबृद्धि गर्न लागेको होटलका अध्यक्ष डा।तिलचन्द्र भटट्राईले बताउनुभयो ।
भवनमा फरक–फरक स्वाद र परिकारका रेष्टुरेन्ट, ५ सय बढी क्षमताको मिटिङ हल, ४ वटा स्वीट रुमसहित ३६ वटा डिलक्स कोठा, २ वटा स्वीमिङ पुल, स्पा, हेल्थ क्लबलगायत सम्पूर्ण सुविधासहितको होटल बनाउन सुरु गरिएको अध्यक्ष गिरीले जानकारी जानकारी दिनुभयो ।
निर्माण सुरु भएको २ वर्षभित्र ४ तारे होटलको रुपमा जंगल क्राउन सञ्चालनमा आउनेछ । दुई विघा बढी क्षेत्रफलमा स्तर बृद्धि हुन लागेको होटल जंगल क्राउनको हालसम्म गरि झन्डै एक अर्ब रुपैयाँ लगानी हुने प्रारम्भिक अनुमान गरिएको छ ।
होटलको शिलन्यास गर्दै पूर्व पर्यटनमन्त्री प्रेम आलेले आगमी दुई वर्ष भित्र देशमा सबै सडक संरचना निर्माण भईसक्दा पर्यटकहरु वृद्धि हुने बताउनुभयो । पर्यटक वृद्धिसगैँ यस होटल मार्फत विदेशी पर्यटकहरुबाट प्रयाप्त आम्दानी हुने विश्वास व्यक्त गर्नुभयो । अव विदेशमा गएर पसिना बगाउने भन्दा पनि स्वदेशमा विदेशीलाई बोलाएर विदेशी मुद्रा आर्जन गर्ने बेला आएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘विदेशमा गएर पसिना बगाउने नभई अब स्वदेशमै विदेशीलाई बोलाएर विदेशी मुद्रा आर्जन गर्ने बेला आएको छ । ’
यस होटलमा अब स्तर बृद्धिसगैँ जम्मा ८३ वटा कोठा हुनेछ । भने १ सय ६५ वटा बेडसंख्या रहनेछन् । होटलमा प्रेसीडेन्टियल सूईट, एक्सुक्युटिभ, डिलक्स रुम र ३ वटा रेष्टुरेन्ट रहनेछन् ।
विदेशी एवं स्वदेशी पर्यटकको मुख्य रोजाइ नयाँ बनेका होटलमा आर्कषित भएपछि यहाँ होटललाई तारे स्तरमा वृद्धि गरिएको होटल जंगल क्राउनले जनाएको छ । सौराहा क्षेत्रका होटलमा ३ हजार वेड छन् ।
पछिल्लो समय ठूलो लगानी गरेर होटल खोल्ने क्रम बढेको क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलिया बताउनुहुन्छ । “अहिले एउटै होटलमा २० करोडभन्दा बढी लगानी भएको छ, उहाँले भन्नुभयो, अर्ब बढी लगानी गरेका व्यवसायी रामेश्वर शाहाको चितवनको ५ तारे रोयल टुलिप रिर्साट आगामी जनवरी देखि सञ्चालन हुनेछ ।”
पछिल्ला तीन बर्षमा सौराहामा नयाँ होटल खोल्न ३ अर्ब बढी रुपैयाँ लगानी भएको क्षेत्रिय होटल संघ नेपाल सौराहाले जनाएको छ । मुख्य गरी सौराहामा आउने पर्यटक हात्ती, डुंगा, जिप सफारी गरेर चितवन निकुञ्जमा रहेको जैविक विविधतासगैँ गैँडा, बाघलगायत जंगली जनावर हेर्न मन पराउँछन् । वन्यजन्तु पर्यटनका हिसाबले चितवन नेपालकै पहिलो गन्तव्य हो ।