काठमाडौँ : नेपाल यूएईलाई पराजित गर्दै आईसीसी महिला यू-१९ टी-२० विश्वकपका लागि छनोट भएको छ। आईसीसी महिला यू-१९ टी-२० विश्वकप एशिया छनोटको आज भइरहेको अन्तिम खेलमा यूएईले जितका लागि दिएको ८४ रनको लक्ष्य १४ ओभर ४ बलमा २ विकेटमात्र गुमाएर पूरा गर्दै एशियाबाट विश्वकपमा छनोट भएको छ।

नेपाल घरेलु यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा छानिन सफल भएको हो। आईसीसी महिला टी-२० विश्वकप अर्को वर्ष मलेशियामा हुँदै छ।ओपनर साना प्रविनले ४२ बलमा १ चौका प्रहार गर्दै अविजित ३५ रन बनाइन्। उनले विजयी चौका प्रहार गरिन्। सोनी पाख्रिनले २० बलको सामना गरेर अविजित १३ रन बनाइन्।

नेपालले ६ खेलबाट १० अंक जोड्यो र युएईले पनि ६ खेलबाटै १० अंक जोडेको भए पनि नेपाल नेट रनरेटका आधारमा यूएईलाई उछिन्दै विश्वकपमा छानिन सफल भएको हो।आजको खेलपछि नेपालको नेट रन रेट ३.९३५ राह्यो भने यूएईको रन रेट ३.७४० रह्यो। द सेभेन रंगशालामा टस जितेर ब्याटिङ रोजेको घरेलु यूएईले २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रनमात्र बनाउँदै नेपालाई जितका  लागि ८४ रनको लक्ष्य दिएको थियो।

टस जितेर ब्याटिङ रोजेको घरेलु यूएईले २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रनमात्र बनायो। यूएईका लागि समाइरा धरनिधर्काले ३१ रन, रिनिथा रजितथले २० रन‚ लाभन्या केनी र इन्दुजा नन्दाकुमार दुवैले १०/१० रन बनाए।

नेपालका लागि करिस्मा गुरुङले ४ विकेट, रिया शर्मा र सीमा केसीले २/२ विकेट तथा रचनाकुमारी चौधरीले १ विकेट लिए।यसअघि यूएईले कुवेतलाई १०६ रन र १८४ रन, थाइल्याण्डलाई ७४ रन र ९ विकेटले तथा नेपाललाई १३ रनले पराजित गरेको थियो।नेपालले कुवेतलाई १०८ रन र १६५ रनले तथा थाइल्याण्डलाई ६७ रन र १०६ रनले पराजित गरेको थियो।