गण्डकी  :  गोरखाको गण्डकी गाउँपालिकाले दिपावली लगायत पर्वहरुको अवसरमा  शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।  जनप्रतिनिधि,राजनितिक दलका प्रतिनिधि ,कर्मचारी सञ्चारकर्मी विभिन्न संघसस्थाका प्रतिनिधि लगायतको उपस्थितिमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

शुभकामनाका साथै सबै पक्षबाट सल्लाह सुझाव समेत लिन कार्यक्रम  आयोजना गरिएको गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’ले बताउनुभयो । आएका सल्लाह सुझावहरुलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । गण्डकी गाउँपालिका विकास र सुशानमा धेरै अघि बढेको  बताउनुभयो । समृद्ध गाउँपालिका निर्माण गर्न सबै पक्षको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष नेपाली कांग्रेसका सभापति होम बहादुर रानाले  गाउँपालिकाले सबै पक्षलाई समेटेर कार्यक्रम गरेकोमा धन्यावाद दिनुभयो । उहाँले गण्डकी गाउँपालिकाको समृद्धिका लागि सबै पक्षलाई समेटेर लैजान आग्रह गर्दै सम्भव भएसम्म दुई ÷तीन महिनामा एक पटक नभए कम्तीमा  बर्षको दुई पटक भएपनि यसरी सबै पक्षसँग छलफल र बहस गर्न गाउँपालिका अध्यक्ष तिमिल्सिनालाई आग्रह गर्नुभयो ।


माओवादी केन्द्रका अध्यक्ष दानसिंह गुरुङले शुभकामना मन्तव्य राख्दै गण्डकी गाउँपालिकाको विकासका लागि जनप्रतिनिधिहरुको मात्र नभई राजनितिक दलहरुको पनि भूमिका रहने भएकाले सर्वदलीय बैठक छलफलहरु आवश्यक रहेको बताउनुभयो । यस्ता भेटघाट र छलफल कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको  बताउनुभयो ।
कार्यक्रममा वोल्ने वक्ताहरुले गण्डकी गाउँपालिकाले विकास निर्माणमा फड्को मारे पनि प्रशासनिक भवन बन्ने स्थानको टुंगो नलाग्दा जनप्रतिनिधिहरुले आलोचना खेप्न परिरहेको बताएका थिए ।


वडा नम्बर ४ का वडाध्यक्ष तथा नेकपा एमालेका प्रतिनिधि राजुबाबु भण्डारीले गाउँपालिकाका सबै जनप्रतिनिधिहरु  विकास निर्माणमा अहोरात्र खटीरहेको बताउनुभयो । विकास निर्माणमा खोट लगाउने कुनै ठाउँ नरहेपनि प्रशासनिक भवनको स्थान विवादले आलोचना खेप्नुपरेको उहाँको भनाई छ ।    कार्यक्रममा स्थानीय निर्माण व्यवसायी  तिल बहादुर गुरुङले पनि  गाउँपालिकाले विकास निर्माणले गति लिए पनि प्रशासनिक भवन टुंगो लगाउन नसक्नु कमजोरी भएको बताउनुभयो । सबै राजनितिक दल जनप्रतिनिधिहरुबिच छलफल गरि सहमतीमा चाँडो भन्दा चाँडो टुंगो लगाउन सुझाव दिनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।