कुरिनटार : सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले विपद् प्रतिकार्यका लागि सरोकारवालाहरु सबैको शसक्त सहभागिता आवश्यक रहेको बताउनुभएको छ । चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटार स्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयको ट्रमा सेन्टरमा सञ्चालित तीन दिने वेसिक लाइफ सर्पोट र प्राइमेरी ट्रमा केयर)तालिमको समापन समारोहमा महानिरीक्षक अर्यालले कुनै एक संस्था वा व्यक्तिको प्रयासले मात्र सम्भव नहुने भएकाले सरोकारवालाहरु सबैको शसक्त सहभागी हुनुपर्ने बताउनुभएको हो ।
महानिरिक्षक अर्यालले भन्नुभयो,“ विपद् प्रतिकार्य कुनै एक संस्था वा व्यक्तिको प्रयासले मात्र सम्भव छैन, यसमा सबै सरोकारवाला निकायहरुको शसक्त सहभागिताको आवश्यकता पर्दछ ,सम्बन्धित सबैको योगदान भएमात्र हाम्रो उदेश्य पुरा हुन्छ । ”
साथै महानिरीक्षक अर्यालले विपद्को समयमा सशस्त्र प्रहरी बल नेपालले राज्यको उपस्थितिलाई सुनिश्चित गर्दै जनताको भरोसाको केन्द्रमा आफूलाई उभ्याउन सफल भएको बताउनुभयो । उहाँले विपद् प्रतिकार्य तथा उद्धारमा खटिएका सशस्त्र प्रहरी कर्मचरीहरूले विपद् जोखिममा परेका हजारौँ नागरिकहरूको जीवन रक्षा गरेको पनि बताउनुभयो ।
उहाँले नेपालका सबै स्थानहरूमा स्वंयसेवकहरु उत्पादन गरी आमनागरिकहरूमा जनचेतना फैलाउने उद्देश्यका साथ औपचारिक रूपमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गत भाद्र १६ गतेदेखि स्वयंसेवक उद्धारक डिजास्टर रेस्पोन्स तालिमहरू सञ्चालन गरिएको तथा देशका विभिन्न स्थानहरूमा हालसम्म ५८८ जना स्वंयसेवकहरुलाई तालिम दिइसकेको बताउनुभयो ।
नागढुंगा–नौविसे मुग्लिन सडक खण्डमा हुने दुर्घटनाका घाइतेहरूलाई तत्काल उद्धार तथा उपचार सेवा प्रदान गरी जीवन रक्षा गर्ने उद्देश्य अनुरूप भौतिक योजना तथा यातायात मन्त्रालय अन्तर्गतको राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच माघ २५ गते पोस्ट क््रयास रेस्पोन्स एण्ड केयर सर्भिस मोडलको सम्झौता भएको थियो ।
सम्झौता अनुरूप सशस्त्र प्रहरी कर्मचारीहरूलाई रोड ट्राफिक क््रयास रेस्क्यु तालिम प्रदान, सवारीसाधन निकाल्ने उपकरणको प्राप्ति, कमाण्ड सेन्टरको स्थापना टेलिमेडिसिन सेवाको सुरुवात, सडक दुर्घटना सचेतना सम्बन्धी होर्डिङ बोर्ड राख्ने तथा पर्चाहरूको वितरण जस्ता कार्यहरू सम्पन्न भइसकेको बताउनुभयो । यी कार्यहरु सुरुवात मात्र भएको र सबै नियकाहरुको इच्छा शक्ति भएमा अन्य राजमार्गमा समेत यस्ता कार्यहरु सञ्चालन गर्न सकिने उहाँको भनाई छ ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले नागढुंगा, नौविसे, मुग्लिन करिडोरमा रहेको सेटेलाइट हस्पिटलका स्वास्थ्यकर्मीहरूद्वारा भविष्यमा हुनसक्ने कुनै पनि विपद् तथा सडक दुर्घटनाको समयमा प्रभावकारी रूपमा परिचालित भई घाइतेको समयमा नै उपचार गरी जीवनरक्षा तथा अङ्गभङ्ग हुनबाट जोगाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल सरकार स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्र रमन,राष्ट्रिय सडक सुरक्षा परिषदका सदस्य सचिव कृष्णराज पन्त, चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव र धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा अधिकृत, विभिन्न संघसस्थाका पदाधिकारीहरुको सहभागिता रहनुभएको थियो ।
मुग्लिनदेखि नौविसे सम्म राजमार्ग क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु र सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मी गरि उक्त तालिममा २६ जनाको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुलाई महानिरीक्षक अर्यालले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा महानिरीक्षक अर्यालले ट्रमा सेन्टरको निरिक्षणका साथै नवनिर्मित बहुउदेश्यीय भवनको उद्घाटन समेत गर्नुभएको थियो ।