
कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को कार्यालले टोलटोलमै पुगेर पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीसहितको जनप्रतिनिधि र कर्मचारीको टोलीले आफ्नो वडाका लाभग्राहीको घरटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो।
सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले ग्लोबल बैँकका कर्मचारीसहित घरटोलमै पुगेर सेवा प्रदान गरिएको वडाध्यक्ष उप्रेतीले बताउनुभयो ।वडा कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा घरमै पुगेर लाभग्राहीलाई प्रदान गरिएको हो ।
उहाँका अनुसार वडाको माथिल्लो भेगका टोल बस्तीहरु स्याक्लाङ, पातिघारी, बाझगाउँ कमलाबारी,कुरिनभित्ता,बेलडाँडा,सोतागाउँ लगायतका स्थानमा पुगेर भत्ता वितरण गरिएको हो ।
घरमै वृद्धभत्ता बुझ्न पाउँदा कुरिनभित्ताका चन्द्र बहादुर मगर खशी हुनुभयो । विशेष गरेर वृद्धवृद्धा र अपाङ्गता भएकाहरुलाई कुरिनटार सम्म पुगेर भत्ता लिन असहज हुने गरेकोमा घरमै भत्ता लिएर जनप्रतिधिहरु आएकोमा खुशी व्यक्त गर्नुुहुदैँ उहाँले धन्यावाद दिनुभयो ।
स्थानीय तहले सामाजिक सुरक्षा भत्ता लाभग्राहीको अनिवार्यरुपमा बैंकमा खाता खोली बैंकबाट वितरण गर्नुपर्ने व्यवस्था गरेको छ तर सेवाग्राहीलाई बैँक सम्म आउन असहज पैदा भएकाले कतिपय स्थानीय तह तथा वडा कार्यालयले बैंकसँग सहकार्य गर्दै बैंकको कर्मचारी सहित गाउँघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका छन्।
भौगोलिक विकटताका कारण इच्छाकामना गाउँपालिकाका माथिल्लो भेगका नागरिकहरुले भत्ता लिन सास्ती बेहोर्नु परिरहेको छ ।