कुरिनटार  : इच्छाकामना सव–डिभिजन वन कार्यालय कुरिनटारको भवन उद्घाटन गरिएको छ । चितवनको इच्छाकामना ४ कुरिनटारमा नवनिर्मित भवनको वागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले शुक्रबार उद्घाटन गर्नुभएको हो ।
भवनको उद्घाटन गर्दै मन्त्री सिलवालले भवन निर्माणसगैँ जनताको सेवाका लागि सहज हुने विश्वास  व्यक्त गर्नुभयो । उपभोक्तासँग सहकार्य गरेर उपभोक्ताको हितमा काम गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिनुभयो ।उहाँले भन्नुभयो,“यहाँका जनतालाई वनकै माध्यमबाट आय आर्जन गराउन सक्ने वातावरण सिर्जना गरिनुपर्छ त्यसका लागि उपभोक्तासँग सहकार्य  आवश्यक हुन्छ ।”
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले पनि लामो समयदेखि भाडामा बसिरहेको सरकारी कार्यालयले आफ्नै संरचना पाएपछि कार्यालय र उपभोक्ता दुबैलाई सहज हुने बताउनुभयो । वन संरक्षण र उपभोक्ताको हितका लागि  गाउँपालिकाले कार्यालयसँग सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सव–डिभिजन कार्यालयको भवन निर्माण भएसँगै जनताको सेवामा थप पहुँच पुगेको डिभिजन वन चितवनका प्रमुख थीरबहादुर कार्कीले बताउनुभयो ।  स्थापनाकालदेखि भाडामा बसेर काम गर्दा कर्मचारी आवास र कार्यालय सञ्चालनको लागि विभिन्न खालका कठिनाइ भोग्दै आएको भन्दै आफ्नै भवन निर्माण भएपछि यी सबै विषय सहज हुने उहाँको भनाई छ । इच्छाकामनामा सव–डिभिजन स्थापना गर्नुमा कुनै सुरक्षा व्यवस्थापनको लागि नभई उपभोक्तालाई सेवा दिलाउने योजना रहेको प्रमुख कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षाका हिसाबले इच्छाकामना संवेदनशील क्षेत्रभित्र पर्दैन,केवल यहाँको जनतालाई सेवा दिने हिसाबले मात्रै इच्छाकामनामा सव डिभिजन स्थापना गरेका हौं।” इच्छाकामनामा वन सम्बन्धी  अपराधका घटनाहरु बर्षमा एक÷दुई वटा त्यो पनि अन्जानमा हुने गरेको पाइएको उहाँको भनाई छ ।

इच्छाकामना सव– डिभिजन कार्यालयका प्रमुख कृष्ण शर्माले कार्यालयको आफ्नै भवनबाट सेवा दिन पाउँदा थप प्रभावकारी हुने बताउनुभयो । कर्मचारीहरुको मनोवल बढ्दा सेवामा थप प्रभावकारी हुने उहाँको भनाई छ ।
डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार  बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा करिब १५ धुर जग्गामा निर्मित दुई तले भवन निर्माणको लागि आर्थिक वर्ष २०७९÷०८० मा ठेक्का आव्हान भएको थियो। कूल दुई करोड ८८ लाख ९७ हजार ३४५ रूपैयाँ लागत अनुमानमा ठेक्का आव्हान भए पनि ठेकेदार कम्पनीसँग दुई करोड आठ लाख ५५ हजार ३७१ रूपैयाँमा सम्झौता भएको थियो। तर, निर्माण सम्पन्न हुँदा एक करोड ५७ लाख ९३ हजार ९३५ रूपैयाँ मात्रै बिल भुक्तानी भएको उहाँले बताउनुभयो ।
सडक डिभिजन कार्यालय चितवनका अनुसार  जिल्लामा रहेका ४३१ वटा कबुलियती वनमध्ये इच्छाकामना सव डिभिजनअन्तर्गत मात्रै २०६ वटा वन पर्छन्। यस्तै चितवन जिल्लाभर रहेका ९३ वटा सामुदायिक वनमध्ये इच्छाकामना सव डिभिजनअन्तर्गत २५ वटा पर्छन्। इच्छाकामना सव डिभिजनको कार्यक्षेत्रभित्र इच्छाकामना गाउँपालिकाको ७ नम्बर वडाबाहेक सबै वडा र भरतपुर महानगरपालिकाको वडा नं.२९ मा रहेका सामुदायिक वन तथा कबुलियती वन पर्छन्।

दुई वन रक्षकलाई नगदसहित सम्मान
सो अवसरमा डिभिजन वन कार्यालय चितवनले वन तथा वन्यजन्तु संरक्षणमा महत्त्वपूर्ण योगदान दिएको भन्दै दुई जना सहायक वन रक्षकलाई नगदसहित सम्मान गरेको छ। सहायक वन रक्षक किशोर पाण्डे र गणेशबहादुर कार्कीलाई वनमन्त्री सिलवालले पाँच हजार राशिसहित सम्मान गर्नुभएको हो ।
सचिव डा केदार बराललाई बाटैमा स्वागत
बागमती प्रदेश मन्त्रालयमा हालै सरुवा भएर आएका सचिव डा केदार बराललाई बाटैमा स्वागत गरिएको छ। कर्णाली प्रदेशबाट सरुवा आएका डा बराल आफ्नो घर पोखराबाट कार्यभार सम्हाल्नका लागि बागमती प्रदेश कार्यालय आउँदै गर्दा मन्त्रालय पुग्न नपाउँदै सोही मन्त्रालयका मन्त्री कृष्णप्रसाद सिलवालसहित डिभिजन वन कार्यालय चितवनका प्रमुख डिभिजन वन अधिकृत थीरबहादुर कार्कीलगायतले इच्छाकामनामै स्वागत गार्नुभएको हो ।

मन्त्रालयका सचिव डा बराललाई इच्छाकामना सव डिभिजन वा कार्यालयको भवन उद्घाटनका क्रममा सोही कार्यक्रममा फूलमालाले स्वागत गर्नुभएको हो ।  डा बरालले शुक्रबार नै मन्त्रालय पुगेर कार्यभार सम्हाल्नुभएको छ ।