
मुग्लिन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफुलाई पुराना राजनितिक दलहरुले चौतर्फी घेराबन्दी गरेको आरोप लगाउनुभएको छ शुक्रबार आफ्नो निर्वाचन क्षेत्र नम्बर २ अन्तरगत इच्छाकामना गाउँपालिका ५ मुग्लिनमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सभापति लामिछानेले पुराना राजनितिक दलहरुको फरक व्यवहार र चौतर्फी घेराबन्दीका बाबजुत पनि आफ्नो निर्वाचन क्षेत्रमा केही काम गरिरहेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो,“पुराना राजनितिक दलहरुको अली फरक व्यवहार र घेराबन्दीका बाबजुत मैले आफ्नो निर्वाचन क्षेत्रमा केही काम गरिहेकोछु त्यो प्रयाप्त छैन तर चौतर्फी घेराबन्दीकाबिच पनि आफ्नो कर्तव्य भुलेकोे छैन ।”
सभापति लामिछानेले मतदाताले गरेको आशा र भरोसा आफुले नभुलेको र एउटा निर्वाचित सांसदले कार्यकालभरी गर्न सकिनेजती काम सम्पूर्ण क्षमता लगाएर गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले इच्छाकामनामा चेपाङ बालबालिकाको शिक्षाका लागि आवासिय नमूना विद्यालय भवन निर्माण गर्न आफु लागि परिरहेको बताउनुभयो । सकेसम्म सरकारी तबरबाट पहल गर्ने सम्भव नभए आफै श्रोत जुटाएर आवासिय नमूना विद्यालय सञ्चालन गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,”चेपाङ बालबालिकाको लागि एउटा नमूना आवासिय विद्यालय भवन निर्माण गरि सञ्चालन गर्ने तयारीमा छौँ,सकेसम्म सरकारी तबरबाट हुने गरि पहल गर्नेछु नभए म आफै श्रोत जुटाएर नमूना आवासिय विद्यालय निर्माण गर्नेछु त्यसका लागि गृहकार्य भइरहेको छ । ”
कार्यक्रममा उपस्थित नागरिकहरुबाट आएका प्रश्नहरुको जवाफ सभापति रवि लामिछाने र जिल्ला स्थित विभिन्न कार्यालयका प्रतिनिधिहरुले दिनुभएको थियो । सहभागीहरुले ग्रामिण सडकको दुरावस्था,विद्युत टेलीफोन विग्रिदाँ हप्तादिन सम्म पनि काम नहुने,शिक्षामा सुधार नभएको, ट्राफिक प्रहरीले राजमार्गमा दुख दिने गरेको लगायतका गुनासोहरु राखेका थिए । सभापति लामिछानेलाई उहाँसँग जोडिएको सहकारी प्रकरण बारेसमेत नागरिकहरुले जिज्ञासा राखेका थिए ।
कार्यक्रममा लामिछानेले आफु निर्वाचित भइसकेपछि निर्वाचन क्षेत्रमा भएका विकासका गतिविधि र विभिन्न योजनाका लागि विनियोजित भएका बजेटहरुबारे प्रोजेक्टर मार्फत प्रस्तुत गर्नुभएको थियो ।
सभापति लामिछानेले आफ्नो निर्वाचन क्षेत्रको विभिन्न स्थानमा सार्वजनिक सुनुवाई गर्दै आउनुभएको छ । आज भएको सार्वजनिक सुनुवाई तेस्रो हो ।