गोरखा :  गण्डकी गाउँपालिकाले पालिका वासीको हितलाई ध्यानमा राखी सहुलियत पसल सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले पहिलो पटक चाडपर्व लक्षित सहुलियत खाद्यान्न पसल सञ्चालन गर्ने भएको हो ।फुलपातीबाट सहुलियत पसल सञ्चालन गरिने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले जानकारी दिनुभयो ।उहाँका अनुसार एक परिवारले सहुलियत खाद्यान्न पसलबाट २ बोरा चामल, ५ किलो दाल,  ४ लिटर तेल र ४ किलो नुन सहुलियतमा प्राप्त गर्ने छ ।
सबै वडामा सहुलियत पसल सञ्चालन गरिने उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो, “सबै वडामा सहुलियत पसल सञ्चालन गर्ने तयारीमा छौँ, भूगोल अनुसार सबै टोलका बासिन्दालाई सहज हुने गरि वडामा एक भन्दा बढी पसल पनि सञ्चालन हुन सक्छ ।” अहिले पसल सञ्चालनका लागि सिलबन्दी दर भाउपत्र आवहान गरिएको उहाँले बताउनुभयो ।
विपन्नलाई १०  प्रतिशत अनुदान
यसैबिच गाउँपालिकाले सञ्चालन गरेको सहुलियत पसलबाट विपन्न परिवारले १० प्रतिशत अनुदान पाउने उहाँले बताउनुभयो ।गाउँपालिकाले अनुदानका लागि रु १० लाख विनियोजन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, सहुलियत खाद्यान्न पसलबाट विपन्न परिवारले १० प्रतिशत सहुलियत प्राप्त गर्नेछ, गाउँपालिकाले  अनुदानका लागि रु १० विनियोजन गरिएको छ ।” विपन्न परिवारको विवरण संकलन गर्ने कार्य भइहेको उहाँले बताउनुभयो ।