गोरखा,१९  भदौ  : गोरखाको गण्डकी गाउँपालिका–१ बुटार र चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्खोला जोड्ने त्रिशूली नदीमाथि बेलिब्रिज निर्माण सम्पन्न भएको छ ।
गोरखा सडक योजनाको समन्वयमा वुट्टारमा निर्माणाधीन १०० मेघावाट क्षमताको सुपर त्रिशुली जलबिद्युत आयोजनाका निर्माण कम्पनी ब्लु इनर्जी लिमिटेडले उक्त ब्रिज बनाइएको हो ।
आयोजनाका लागि आवश्यक सामान ढुवानीका लागि निर्माण गरिएको उक्त बेलिब्रिजको गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना (साकार) र चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले एक कार्यक्रमका बीच संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले बेलिब्रिज निर्माण सगँै गण्डकी गाउँपालिकाका जनतालाई ठूलो राहत मिलेको बताउनुभयो ।
यस अघि झोलुङ्गे पुलबाट उत्पादित कृषिजन्य सामाग्रीहरु ल्याउनुपर्ने बाध्यता रहे पनि अवका दिनमा पुल मार्फत गाडीबाटै ढुवानी गर्न सकिने भएपछि गण्डकी गाउँपालिकाका स्थानीयहरुलाई सहज भएको उहाँले बताउनुभयो ।
यसैबिच इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले इच्छाकामना र गण्डकी गाउँपालिका जनतालाई आवत जावतमा सहज भएको बताउँनुभयो । साथै गण्डकी गाउँपालिकाका जनताहरुलाई स्वास्थ्य सेवाका लागि चितवन, काठमाडौँ जान थप सहज भएको  बताउँनुभयो । इच्छाकामनाका विद्यालयहरुमा अध्ययनका लागि गण्डकी गाउँपालिकाका तल्लो भेगका बालबालिकाहरुलाई विद्यालय आउन थप सहज बनेको  उहाँको भनाई छ ।
बेलिब्रिज निर्माणले दुबै पालिकाका जनताको आवत जावत मात्र नभई अन्य विकास निर्माणका लागि सहज बन्ने उहाँको विश्वास छ । साथै निर्माणाधिन हाइड्रो पावर निर्माणका क्रममा आइपर्ने समस्याहरुमा गाउँपालिकाले सहजीकरण गर्ने प्रतिवद्धता जनाउँनुभयो ।
पूर्व प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले गोरखाको दक्षिण भेगको विकासका लागि आवश्यक स्थान  सबै ठाउँमा पुल निर्माण गरिनुपर्ने बताउनुभयो ।
गोरखाको  क्षेत्र नम्बर १मा पर्ने बेनीघाटदेखि डुम्रेसम्म धैरै स्थानमा पुल निर्माण आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“यहाँ भएपछि त्याहाँ किन भन्ने कुरा  आउँछ , यहाँ भएपछि ठेवाटारमा किन, कुुरिनटारमा किन ज्यमिरेघाटमा किन धवाडीघाटमा किन भन्ने प्रश्न आउँछ  यी  सबै प्रश्नलमई खारेज गर्नुपर्छ , काठमाडौँमा कती नजिक नजिक पुलहरु छन् यहाँ पनि सबै ठाउँमा पुल निर्माण गरि पक्की सडकहरु निर्माण गर्नुपर्छ जो जहाँबाट पनि जान सक्ने सुनिश्चतता गर्नुनै दक्षिण बेल्ट र गोरखालीहरुको समृद्धिको आधार हो । ”
यसका लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । ब्लु इनर्जीको  पुल निर्माण गर्ने पहलकदमीले क्रम भंग गरेको  बताउँदै अधिकारीले धन्यवाद दिनुभयो ।
सो अवसरमा निर्माण कम्पनीका प्रतिनिधि सलिन देवकेटाले रु.  १६ करोड १४ लाख खर्चेर पुल निर्माण गरिएको बताउँनुभयो । उहाँका अनुसार पुलको लम्वाई ११६ मिटर र चौडाई ४.२ मिटर रहेको छ ।
यो बेलिब्रिज २० टन भारवहन क्षमताको रहेको छ । एक पटकमा एउँटा गाडी मात्र आउजाउ गर्न मिल्ने उहाँले बताउनुभयो ।
कम्पनीका निर्देशक निरञ्जन रेग्मीले हाइड्रो पावर निर्माणसगैँ इच्छाकामना र गण्डकी गाउँपालिकाको विकासमा कम्पनीले सहयोग गर्ने प्रतिवद्धता जनाउँनुभयो । यो बेलिब्रिजले  यहाँका स्थानीयको समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा गण्डकी गाउँपालिका उपाध्यक्ष ललिता अधिकारी, इच्छाकामना गाउँपालिका वडा न. ३ का वडा अध्यक्ष नर बहादुर नेपाल, गण्डकी गाउँपालिका वडा न. १ का वडा अध्यक्ष तोपमान गुरुङ, सरोकार समितिका अध्यक्ष सिताराम रसाइली लगायतले मन्तव्य राख्नुभएको थियो ।