चितवन,८ भदौ :  तनहुँको आँबसखैरेनी स्थित ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरुको शव भारत लगिएको छ । भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय एयरफोर्सको जहाजबाट आज अपरान्ह भरतपुर बिमानस्थलबाट भारत लगिएको हो ।मृतक २७ मध्ये २५ जनाको शव जहाजबाट लगिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले जानकारी दिनुभयो । उहाँका अनुसार बसका चालक र सहचालकको शव भने स्थलमार्गबाट गोरखपुरतर्फ लगिएको छ ।

मृतकको शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से पनि भरतपुर आउनुभएको थियो । उहाँपनि सोही जहाज चढेर जानुभएको छ ।

मृतक यात्रुका शव शुक्रबार रातीनै आबुखैरहनीबाट भरतपुर ल्याइएको थियो । पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय पर्यटक बोकेको बस शुक्रबार बिहान ११ः३० बजेको समयमा तनहुँको आबुखैरेनी नजिकै सडकबाट मर्स्याङ्दी नदीमा खस्दा पशुपतिनाथमा दर्शनका लागि हिडेका २७ पर्यटकको मृत्यु भएको हो । मृतकमध्ये १५ जना महिला, ११ जना पुरुष र एक जना चार बर्षकी बालिका रहेकी छन । घाइते हुनेहरुमा ६ जना पुरुष र १० जना महिला रहेका छन ।

प्रहरीका अनुसार बसमा सवार ४३ जना सवार थिए । घाइतेहरुको काठमाडौंमा उपचार भइरहेको छ । मृतक र घाइते हुनेमा भारतको महाराष्ट्रको जलगाउँ जिल्लास्थित भुसावल गाउँका हुन ।

शुक्रबार बिहान पोखराबाट आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनी नजिकैबाट मर्स्याङ्दीमा खसेको थियो ।