चितवन : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ। अहिले भरतपुर अस्पतालमा शव परिक्षणको तयारी भइरहेकोे प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उहाँका अनुसार शव परिक्षणपछि भैरहवा हुदैँ भारत लगिने छ ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। शवलाई शुक्रबार राती नै भरतपुर अस्पताल ल्याइएको हो ।
दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो। उनीहरूको उपचार त्रिभुवन शिक्षण अस्पतालमा भइरहेको छ । मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ।