
धादिङ : वेनीघाट रोराङमा दुई दिने आवासीय शैक्षिक गोष्ठी सम्पन्न भएको छ । वेनीघाट रोराङ गाउँपालिका शिक्षा युवा खेलकुद तथा सामाजिक विकास शाखाको आयोजनामा सिकाई सुधारका लागि विषय समितिका संयोजकहरु, परीक्षा समितिका पदाधिकारीहरु, शिक्षकका पेशागत संघसंगठनका प्रमुखहरु र सबै विद्यालयका प्रधानाध्यापकहरु सम्मिलित शनिबार र आइतबार दुई दिने आवासीय शैक्षिक गोष्ठी सम्पन्न भएको हो । सूर्योदय आधारभूत विद्यालय भुवा भञ्ज्याङमा सम्पन्न तालिममा १२४ जनाको सहभागिता रहेका थिए ।
गाउँपालिका स्तरीय परीक्षा समिति र विषयगत समितिको प्रस्तुती सहित विद्यालयका प्रअहरुले सिकाइ सुधारका लागि मेरो कार्ययोजना शीर्षकमा डिजिटल प्रस्तुती दिनु भएको थियो । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा गाउँपालिका र प्रधानाध्यापकबीच ५९ बुँदे कार्यसम्पादन करार सम्झौता समेत भएको गाउँपालिकाले जनाएको छ ।
साथै सिकाई सुधारका लागि प्रधानाध्यापकहरुको २१ बुँदे साझा प्रतिबद्धता र विद्यालयहरुबाट प्रस्तुत असल अभ्यास र कार्ययोजनाको संकलन कार्य गरिएको छ । नन ग्रेडेड नतिजा शुन्यमा झारौं– सिकाई सुधार वर्ष २०८१ लाई सफल पारौं”भन्ने साझा अवधारणा बोध गरिएको गाउँपालिका शिक्षा युवा खेलकुद तथा सामाजिक विकास शाखाले जनाएको छ । यस गोष्ठीमा शिक्षा सुधारका लागि सहयोगी संस्था प्रयास नेपाल धादिङको समेत सक्रिय सहभागिता रहेका थिए ।