गण्डकी : गोरखाको गण्डकी गाउँपालिकाले नमुना वडा कार्यालय र स्वास्थ्य संस्थालाई सम्मान गरेको छ । आज एक कार्यक्रमकाबिच वडा नम्बर ५ को कार्यालय र वडा नम्बर २ स्थित ताङ्लीचोक स्वास्थ्यचौकीलाई उत्कृष्ट कार्य सम्पादन गरेवात सम्मान गरिएको हो ।
आर्थिक बर्ष २०८०/०८१ को बार्षिक समीक्षा कार्यक्रमको अवसरमा गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना साकारले उत्कृष्ट नमुना कार्य गर्ने वडा र स्वास्थ्यचौकीलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो । गाउँपालिका अध्यक्ष तिमिल्सनाले वडा नम्बर ५ का वडाध्यक्ष पहलमान बयलकोटी र ताङ्लीचोक स्वास्थ्यचौकीका प्रमुख पुस्कर खनाललाई प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
उपाध्यक्ष ललिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटी, विभिन्न वडाका वडाअध्यक्ष, वडा सचिव,स्वास्थ्य संस्थाका प्रमुख तथा विषयगत शाखाका शाखा प्रमुख र कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
नमुना कार्यालय छनौट मापदण्ड २०८१ बमोजिमका सूचकहरुमा उत्कृष्ट कार्य सम्पादन गरी उच्च अंक प्राप्त गरेर नमुना वडा र नमुना स्वास्थ्यचौकी बन्न सफल भएकाले सम्मान र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।