चितवन, २ भदौ ।नेकपा (एमाले) भरतपुर महानगरका वडा अधिवेशन धमाधम भइरहेका छन् ।गत साउन १४ मा सम्पन्न नेकपा (एमाले) भरतपुर महानगर कमिटीको विस्तारित बैठकले भदौ १५ गतेभित्र बाँकी वडामा अधिवेशन सक्ने निर्णय गरेको थियो ।
साउन १४ अघि महानगरका २९ वटा वडामध्ये १५ वटा वडाको अधिवेशन हुन बाँकी थियो । अधिवेशन हुन बाँकी वडाहरुमा वडा नम्बर १, २, ३, ४, ६, ७, ११, १३, १५, १६, १७, २१, २४, २८ र २९ रहेका थिए । जसमध्ये ८ वटा वडाको अधिवेशन पछिल्लो १८ दिनमा सम्पन्न भएका छन् । जसमा हिजो शनिबार एकैदिन ४ वटा वडाको अधिवेशन सम्पन्न भएको हो ।अब वडा नम्बर १७, १३, १५, ११, २१, १ र ४ को अधिवेशन हुन बाँकी रहेको नेकपा एमाले चितवनका उपसचिव एवम् कार्यालय सचिव मिन बहादुर परियारले जानकारी दिए ।परियारका अनुसार यी वडाहरुमा आगामी भदौ १५ गतेभित्र वडा अधिवेशन सकिसक्ने गरी मिति तय भएको छ भने वडा नम्बर १७ ले अझै मिति तय गर्न सकेको छैन ।

चितवनमा धमाधम गतिविधि बढाउँदै एमाले :
नेकपा एमालेले चितवनमा पछिल्लो समय आफ्ना गतिविधिहरु बढाउँदै लगेको छ । गत वर्ष फागुन र चैतमा डेढ महिनासम्म ‘जनतासँग एमाले अभियान २०८०’ सञ्चालन गरेको थियो । त्यसलगत्तै पार्टीले जिल्ला अधिवेशन सम्पन्न गर्याे ।
पूर्वि चितवनको राप्ती नगर कमिटीले गत साउनमा ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न गर्याे । जसअन्तर्गत एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु टोलटोलमा पुगेर जनतासँग अन्तरक्रिया गरे ।त्यसैगरी अहिले चितवन जिल्लाभरि बाँकी रहेका वडाहरुको अधिवेशन पनि चलिरहेको छ ।
भरतपुर महानगरपालिका भित्रका वडामा भने तीव्र गतिमा धमाधम वडा अधिवेशन भइरहेका हुन् ।चितवनका सबै वडाहरुमा अधिवेशन सर्वसम्मतरुपमा सम्पन्न भइरहेका छन् । नेकपा एमाले चितवनले सर्वसम्मतबाट अधिवेशन गरेर पार्टी एकढिक्का रहेको सन्देश प्रवाह गरिरहेको जिल्ला कमिटी चितवनका उपाध्यक्ष श्याम कुमार विष्ट बताउँछन् ।