काठमाडौँ : २० वर्षमुनिको पुरुष साफ च्यामिपयनशिप फुटबल प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ।सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज भएको उद्घाटन खेलमा श्रीलंकालाई १–० गोलले हराउँदै घरेलु टोलीले विजयी शुरुवात गरेको हो।
नेपालको जितमा खेलको २३औँ मिनेटमा निराजन धामीले गरेको गोल नै निर्णायक बन्यो। निर्धारित ९० मिनेट र थपिएको ६ मिनेटको अतिरिक्त समयमा दुवै टोलीले थप कुनै गोल गर्न सकेनन्।जितसँगै नेपालले ३ अंक जोडेको छ। अहिलेसम्म साफ यू-२० का पाँच संस्करण आयोजना हुँदा नेपालले दुईपटक उपाधि जितेको छ।
सन् २०१५ मा भएको प्रतियोगितामा नेपालले घरेलु मैदानमा नै भारतलाई हराउँदै उपाधि जितेको थियो। निकै प्रतिस्पर्धात्मक रहेको उक्त खेलको निर्धारित समयमा दुवै टोली १–१ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा नेपालले भारतलाई ५–४ गोल अन्तरले पराजित गरेको थियो।
च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्र सहभागी छन्। सहभागी ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ए मा बंगलादेश र श्रीलंका छन्। समूह बी मा भारत, मालदिभ्स र भुटान छन्। समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।