हीरालाल गुरुङ

मुग्लिन, ३२साउन : धार्मिक पर्यटकीय गन्तव्यको प्रचार-प्रसारका लागि मोटरसाइकल र्‍याली गरिने भएको छ । भदौ १ गते शनिबार चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिनदेखि गोरखाको  सहिदलखन गाउँपालिका ३मा रहेको त्रिवेणी भवगती माइको मन्दिर हुदैँ मनकामनामाइको मन्दिर सम्म मोटरसाइकल र्‍याली गरिने भएको हो ।
मनकामनामा दैनिक दशौँ हजार दर्शनार्थी पुग्ने गरे पनि प्रचार-प्रसारको अभावमा मनकामनामाइको कान्छी बहिनी मानिने त्रिवेणी भगवतीमाइको मन्दिर ओझेलमा परेकाले  प्रचार प्रसारका लागि मुग्लिनदेखि त्रिवेणी मन्दिर हुदैँ मनकामना मन्दिरसम्म मोटरसाइकल र्‍यालीको आयोजना गरिएको होटल संघ मुग्लिनका अध्यक्ष समेत रहनुभएका अभियानता मिनबहादुर श्रेष्ठले बताउनुभयो।उहाँका अनुसार सो अवसरमा त्रिवेणीको जल मनकामना मन्दिरमा अर्पण गरिने छ ।
त्रिवेणी भगवतीको मन्दिरभित्र रहेको जलअर्पण गरे पश्चात मात्र मनकामना देवीको पूजाको पूर्णता हुने धार्मिक पराम्परा रहि आएको त्रिवेणी मन्दिर संरक्षण समितिका अध्यक्ष  सूर्य गुरुङले बताउनुभयो । उहाँका अनुसार बर्षको दुई पटक  मनकामना मन्दिरमा त्रिवेणी देवीबाट लगेको जल अनिवार्य रुपमा अर्पण गर्ने गरिन्छ ।उहाँकाअनुसार पहिला दैनिक नै त्रिवेणीको जल मनकामना मन्दिरमा चढाउने प्रचलन रहेको थियो ।
मनकामना मन्दिरमा आउने भक्तजनहरुलाई त्रिवेणीको जलबारे थाहा नभएकाले प्रचार प्रसारका लागि अभियान नै सञ्चालन गरिएको बताउनुभयो ।मनकामना मन्दिर जाने भक्तजनहरुले त्रिवेणीको जललिएर जान  सकिने उहाँको भनाई छ ।त्रिवेणीको जल लिएर गएमा   मनकामना मन्दिरको  पुजाले पूर्णता पाउने र माग पुरा हुने धार्मिक विश्वास रहेको उहाँको भनाई छ ।
मनकामनादेवी र सोहदर दिदीबहिनी मानिने गोरखाको त्रिवेणी,तनुहँको छिम्केश्वरी र चितवनको इच्छाकामनालाई समेटेर एकीकृत धार्मिक गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । चार धामलाई एकीकृत धार्मिक गन्तव्यका रुपमा विकास गर्नका लागि स्थानीय अगुवाहरुले अभियान नै सुरुवात गरेका हुन् । मनकामनामा दैनिकदशौँ हजार दर्शनार्थी पुग्ने गरे पनि प्रचार-प्रसारको अभावमा कान्छी बहिनी त्रिवेणी भगवतीदेवीको मन्दिर ओझेलमा परेकोले  प्रचार-प्रसारका लागि कार्यक्रम आयोजना गरिएको उहाँको भनाई छ ।
मोटरसाइकल र्‍याली  कार्यक्रममा स्थानीय, जनप्रतिनिधि र अभियनताहरुको  सहभागी हुनेछन् ।