सिन्धुली : सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ११ जना घाइते भएका छन् ।
मृत्यु हुनेहरुमा सिन्धुलीकै गोलञ्जोर गाउँपालिका–६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, सोही ठाउँका ४५ वर्षका उदयबहादुर मस्राङ्गी र ३५ वर्षका पवन मस्राङ्गीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशवबहादुर कटवालले दिनुभयो ।
उनीहरुको उपचारको क्रममा बिहान साढे १० बजे जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो ।
बिहीबार बिहान सवा ९ बजेतिर कमलामाई नगरपालिका–२ चियाबारी नजिक बीपी राजमार्गमा गोलञ्जोरबाट सिन्धुलीतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको जिप आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
घाइते मध्य जिप चालक गोलञ्जोर–६ का ३२ वर्षीय टीकाजंग राई (हायु) को अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । चालकसँगै गोलञ्जोर ६ का २२ वर्षीय उदय लुंगेली, १७ वर्षीया मेनुका मगर र ३७ वर्षका हिमाल परियारलाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
अन्य घाइतेहरुको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको प्रहरी निरिक्षक कटुवालले बताउनुभयो ।