काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले टेलिफोनको रिङटोनमा डेंगुबाट बच्ने उपायको सूचना दिने व्यवस्था मिलाउने बताउनुभएको छ । डेंगु रोकथाम तथा नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई बिहीवार मन्त्रालयमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
साथै उहाँले कार्यालय सफा गर्ने अभियान हरेक हप्ताको शुक्रवार बिहान १० देखि ११ बजेसम्म सञ्चालन गर्न आग्रह गर्नुभयो । डेंगु नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले विद्यालय, अस्पताल, क्याम्पस, तरकारी बजार, हाटबजार, खुला ठाउँ, सार्वजनिकस्थलमा पालिकाले वडालाई क्रियाशील बनाइ निगरानी गर्न आवश्यक रहेको बताउनुभयो।
उहाँले बढी मानिसहरुको उपस्थिति हुने ठाउँलाई निगरानी गरेको खण्डमा नियन्त्रणमा योगदान पुग्ने बताए। उनले लामो बाहुले लुगा लगाउने जस्ता जनचेतना अभिवृद्धि गर्नसके पनि महत्वपूर्ण उपलब्धि हुने बताउनुभयो। उहाँले जनचेतना अभिवृद्धि गर्ने क्रममा संघ, प्रदेश र स्थानीय तहले समन्वयात्मकरुपमा भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो ।